असारमा आउँदै एसराजको कीर्तिपुरः द लिजेण्ड अफ कीर्तिलक्ष्मी

काठमाडौं । तत्कालिन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानमा १८ औं शताब्दीमा कीर्तिपुरमा गरेको आक्रमणसहितका विषयबस्तुलाई समेटेर निर्माण गरिएको फिल्म ‘कीर्तिपुरः द लिजेण्ड अफ कीर्तिलक्ष्मी’ आगामी असार १३ गते प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक प्रदीप खड्काका अनुसार झन्डै तीन वर्ष लगाएर निर्माण गरिएको फिल्म असारमा प्रदर्शनका लागि तयार भएको छ ।

साहित्यकार बासु पासाङद्वारा लिखित ‘भैरवसिंह’ उपन्यासमा आधारित फिल्म फोकस पिक्चर्सको व्यानरमा निमार्ण भएको हो । फिल्ममा एसराज गरच, मदनदास श्रेष्ठ, सुरवीर पण्डित, लक्ष्मी गिरी, बिनोद श्रेष्ठ, हिसिला महर्जन, मनीराज लावत, सुशिल राजोपाध्याय, सन्जय शर्मा, सुनिल भट्टराई, सनित शाही, मञ्जु श्रेष्ठ, अन्जना नकर्मीलगायतको अभिनय छ ।

काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोर्खामा छायांकन गरिएको फिल्मका निर्माता अनन्तकुमार श्रेष्ठ, वीरेन्द्र ताम्राकार, प्रेम खड्गी हुन् । फिल्ममा प्रेम खड्गीको संवाद, केके मानन्धर, प्रदीप खड्गीको पटकथा÷संवाद, शंकर महर्जनको छायांकन छ । फिल्मलाई रिच इन्टरटेनमेन्टका तर्फबाट करण श्रेष्ठले वितरण गर्दैछन् ।