थाइल्याण्डमा रोमान्टिक सानो मन जोडी

काठमाडौं । फिल्म ‘सानो मन’को टोली यतिबेला थाइल्याण्डको राजधानी बैंककमा शीर्ष गीतको छायांकनमा व्यस्त छ । यसै साता थाइल्याण्ड गएको फिल्म युनिटले शीर्ष गीत ‘सानो मन’ थाइल्याण्डको पताया र बैंककमा छायांकन गरेको हो ।

फिल्मका निर्माता राजेन्द्र मानन्धरका अनुसार पतायाको समुन्द्री किनारमा गीतको छायांकन गरिएको छ । गीतमा फिल्म नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्के रोमान्टिक मुद्रामा देखिएका छन् ।

यो गीतलाई निर्देशक सुयोग गुरुङले नै कोरियोग्राफी गरिरहेका छन् । हालै मात्र छायांकन स्थलबाट निर्माण पक्ष केही तस्बिरहरु पठाएका छन् । रोहितजोन क्षत्रीको स्वर रहेको यो गीतमा स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङको संगीत छ ।

पतायाको छायाँकन सकेर ‘सानो मन’ युनिट यतीबेला बैंकक पुगेको छ । सोमबारदेखि बैंककका विभिन्न रमणीय स्थानहरुमा बाँकी छायांकन सुरु गरिएको पनि निर्माता मानन्धरले जानकारी गराए । गीतको बाँकी छायांकन पछि फिल्मका थप दृष्यहरु छायांकन गरेर आफुहरु १५ जेठमा काठमाडौं फर्कने पनि निर्माता मानन्धरले जानकारी गराए ।

यो फिल्मको छायांकन आलोक शुक्लले गरिरहेका छन् । बर्मेली नेपालीहरुको सहयोगमा आफुहरुले त्यहाँ फिल्मको छायाँकन गर्न सफल भएको पनि निर्माता मानन्धरले बताए । निर्देशक सुयोगलाई त्यहाँ मुख्य सहायक निर्देशक रितसिंह बोहराले सघाईरहेको छन् । यो फिल्ममा समिर सुनुवार र निर्देशक गुरुङको कथा रहेको छ । ओपिजी फिल्मस्, ए प्लस इन्टरटेन्मेण्ट र हाईटेक इन्टरटेन्मेण्टको ब्यानरमा बनेको यो फिल्मका निर्माताहरुमा राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजिब श्रेष्ठ र रमेश कुमार मित्तल रहेका छन् ।