जाइरा टिजरमा नम्रताको रिस

काठमाडौं । आगामी भदौ ६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘जाइरा’को टिजर सार्वजनिक भएको छ । बुधवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्रको टीजर सार्वजनिक गरिएको हो ।

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेकी छन् । यो चलचित्रमा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ सहित नव(कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमूख अभिनय रहेको छ । नव अभिनेत्री रेग्मी पनि चलचित्रमा खेलाडीको रुपमा रहेकी छिन् । नव अभिनेता मगर नम्रताको कोचको भूमिकामा छन् ।

’जाइरा’का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । यो चलचित्र कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको हो । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाईरा’लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् ।

कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द्व कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यस चलचित्रमा केशव थापाको नृत्य निर्देशन छ भने डि.ओ.पी. बाबु श्रेष्ठको रहेको छ । ’जाइरा’को प्रमोशन ब्यवस्थापक सुम्निमा देवान हुन् ।