पाँच वर्षपछि यशराज र हिसिलाको कीर्तिपुर

काठमाडौं । ऐतिहासिक फिल्म ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ निर्माण भएको पाँच वर्षपछि आगामी असार १३ गतेबाट दर्शकमाझ आउँदैछ । काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्देशक प्रदीप खड्गीले सेन्सर बोर्डले सेन्सर पास गर्न समय लगाएपछि निर्माण भएको लामो समयपछि मात्र यो फिल्म प्रदर्शन हुन लागेको बताए । यो फिल्म नेपाल एकीकरणका अभियन्ता तत्कालिन राजा पृथ्वीनारायण शाहले एकीकरणको अभियानमा १८ औं शताब्दीमा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा आधारित छ ।

फिल्म युनिटले पत्रकार सम्मेलनमा नयाँ गीत पनि सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा कीर्तिपुर आक्रमणका दृष्यहरू पनि समावेश गरिएको छ । निर्देशक खड्गीले फिल्ममा ९० प्रतिशत भिएफएक्स प्रयोग गरिएको जनाए । अत्यधिक भिएफएक्स गर्नु परेका कारण पनि फिल्म प्रदर्शनमा आउन ढिलाइ भएको निर्देशक खड्गीको भनाइ छ ।

साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित भएर निर्माण भएको फिल्ममा यशराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठ आदि कलाकारहरुले अभिनय गरेका छन् । फिल्मलाई अनन्तकुमार श्रेष्ठले निर्माण गरेका हुन् । फिल्ममा अभिनेता यसराज गराजले पृथ्वीनारायण शाह तथा अभिनेत्री हिसिला महर्जनले कीर्तिलक्ष्मीको भूमिका निर्वाह गरेका छन् । अभिनेता गराचले ऐतिहासिक विषयमा आधारित फिल्मको एउटा महत्वपूर्ण अंग हुन पाउ“दा गौरवान्वित भएको बताए । पुथ्वीनारायण शाहको भूमिका निर्वाह गर्न निकै कठिन भएको बताउ“दै अभिनेता गराचले आफ्नो तर्फबाट राम्रो गर्ने प्रयास गरेको दाबी गरे ।

कीर्तिलक्ष्मीको भूमिका निर्वाह गर्ने अभिनेत्री महर्जनले उक्त चरित्रका बारेमा आफूले बाल्यकालदेखि सुन्दै आएको तथा एकदिन उक्त भूमिका निर्वाह गर्ने सपना देखेको बताइन् । फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको फिल्मको छायांकन काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोर्खामा भएको हो । निर्माता श्रेष्ठलाई फिल्म निर्माणमा वीरेन्द्र ताम्राकार र प्रेम खड्गीले सघाएका छन् । शंकर महर्जन र नविन जोशी यो फिल्मका छायांकार हुन् । फिल्मलाई फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडि कम्पनीले वितरण गर्दैछ ।