काठमाडौं । आगामी असार १३ गतेबाट रिलिज हुने फिल्म ‘आप्पा’मा अभिनेता दयाहाङ राई ‘बिर्खे’ नामक एक ड्राइभर चरित्रमा देखिँदैछन् । उनी यतिबेला फिल्मका निर्देशक अनमोल गुरुङसँग फिल्म प्रचारका लागि पोखरा र नारायणघाटमा छन् । नारायणघाटमा पत्रकारसँग कुरा गर्दै दयाहाङले फिल्मले बिर्खेको कथालाई देखाउने बताए ।
‘आप्पा दार्जिलिङदेखि सन्दकपुरसम्मको यात्राको कथा हो । मैले फिल्ममा बिर्खे नाम गरेको एक ड्राईभरको भूमिका निभाएको छु । त्यही ड्राईभरको वरीपरी नै कथा घुमेको छ’, उनले भने, ‘एउटा ड्राईभरले गाडी चलाउँदा केके भोग्नु पर्छ भन्ने कथा फिल्मले उठान गरेको छ ।
निर्देशक अनमोल गुरुङले फिल्म नेपालसँगै भारतका मुख्य सहरमा एकै मितिमा रिलिज हुने बताए । ‘फिल्म नेपालसँगै भारतको २५ वटा हलबाट एक साथ प्रदर्शनमा आउँदैछ । नेपाली फिल्मको विदेशमा च्यारिटी शो त हुने गर्दछ । तर एकसाथ फिल्म हलमा रिलिज भने थोरै फिल्म मात्रै हुने गर्छन् । त्यसमा यसपटक आप्पामा भाग्यशाली साबित भएको छ ।’उनले भने ।
अनमोलले फिल्म भारतको नयाँदिल्ली, कोलकता, मुम्बई, सिक्किम, आसाम, दार्जिलिङ, सिलोङजस्ता मुख्य सहरहरूमा प्रदर्शनमा हुने बताए । बाबु छोराको सम्बन्धको कथा बोल्ने फिल्मका कार्यकारी निर्माता माबो चेम्जोङ हुन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।
फिल्ममा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।