कुन मायाको साइनोमा साइनो कलाकार

काठमाडौं । नेपालकी प्रथम नायिका भुवन चन्द थापाद्वारा निर्मित फिल्म ‘साइनो’को दोस्रो गीत ‘कुन मायाको साइनो’ को लिरिकल गीत सार्वजनिक भएको छ । गीतमा नीता ढुंगाना, मीरुना मगर र राजकुमारबीचको त्रिकोणात्मक प्रेम देखाइएको छ ।

एलिश कार्कीद्वारा संगीतबद्ध गीतमा प्रताप दास र जीना रसाइलीको स्वर छ । गीतमा रामजी लामिछानेले कोरियोग्राफी भरेका छन् । गीतमा राजेशकुमार श्रेष्ठको शब्द सृजना छ ।साउन २४ गते रिलिज हुने सिनेमामा नीता, मिरुना र राजसँगै नेपालकै भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय छ ।

अभिमन्यु निरवी लिखित सिनेमाको कार्यकारी निर्माता शरण थापा हुन् । चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको सिनेमामा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

यसैबीच रमेश थापा निर्देशित सिनेमाले यसै गीतको लागि ’टिक(टक च्यालेन्ज’ पनि बाहिर ल्याएको छ । गीतको कुनै पनि अंशमा इच्छुकले टिक(टकबाट भिडियो बनाउन सक्नेछन् । यसरी बनाइएको टिक(टक भिडियोलाई सिनेमा ’साइनो’को अफिसियल फेसबुक पेजमा सेन्ड गरेर च्यालेन्जमा सहभागिता जनाउन सकिनेछ ।

च्यालेन्जमा उत्कृष्ट हुने भिडियोलाई निर्माण टिमले आकर्षक पुरस्कार पनि तय गरेको छ । जस अनुरुप प्रथम हुने भिडियोलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजारको दरले पुरस्कार छुट्टयाइएको छ ।त्यस्तै पाँच जनालाई गिफ्ट ह्याम्पर र दुई जना भाग्यशालीलाई आस्था कला केन्द्रमा १ वर्षको लागि निशुल्क प्रशिक्षणको व्यवस्ता गरिनेछ । विजेताहरु घोषणा सिनेमा रिलिज अगावै हुनेछ ।