चलचित्र र कलाकारलाई बोर्डको २५ हजार पुरस्कार

काठमाडौं । चलचित्र विकास बोर्डले १९औं वार्षिक उत्सवको अवसर पारेर आगामी असार २७ गते राष्ट्रपति भवन, सितल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ आयोजना गर्ने भएको छ । बोर्डले २०७३, २०७४ र २०७५ को उत्कृष्ट फिल्म तथा कलाकारलाई जनही २५ हजार रुपैंयाँको पुरस्कार दिन लागेको हो । हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह विविध कारणले २०७४ र ०७५ मा हुनसकेको थिएन । त्यसैले पनि यसपटकको पुरस्कार समारोहलाई विशेषरुपमा हेरिएको छ । यसपटक समारोहमा २०७३, २०७४ र २०७५ गरी तीन वर्षको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । तीन वर्षकै नेपाली चलचित्र हेरेर निर्णायकले बोर्डमा परिणाम बुझाइसकेका छन् ।

राष्ट्रपति विधादेवी भण्डारीको हातबाट प्रदान हुने यो पुरस्कारमा यसपटक सम्मानपत्र र अवार्डसँगै नगदराशी पुरस्कारको पनि व्यवस्था गरिएको छ । बोर्डका अध्यक्ष केशव भट्टराईले पुरस्कारमा नगद पनि दिईने प्रचलन रहेकाले पुरस्कृतलाई उनीहरुको सम्मानका लागि हरेक विधामा २५ हजार रुपैयाँ प्रदान गरिने निर्णय भएको बताए । अर्को वर्षबाट यो पुरस्कारको राशी बढाएर प्रति विधा ५१ हजार रुपैयाँ प्रदान गरिने निर्णय पनि चलचित्र विकास बोर्डको बैठकबाट पारित भएको छ ।

बोर्डले गत असार १६ मा नेपाली चलचित्र क्षेत्रमा विभिन्न विधामा सम्मानितसबै विशिष्ट चलचित्रकर्मी, सर्जक तथा संस्थाहरुलाई सम्मान स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ । यता राष्ट्रिय चलचित्र पुरस्कार समारोहलाई चलचित्रमय बनाउन अग्रजदेखि नयाँ पुस्तासम्मका विभिन्न नायक नायिकाहरुले करिब १२ मिनटको नृत्य प्रस्तुत गर्नेछ । जसका लागि एक साता यताबाट नृत्य अभ्यास भईरहेको छ । पहिलो चलचित्र आमादेखि अहिलेसम्मका चलचित्रका चर्चित एवम् कालजायी गीतमा कलाकारहरुले पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्नेछ ।

नृत्य निर्देशकहरु– बसन्त श्रेष्ठ, राजु शाह र कविराज गहतराजले अहिले विभिन्न गीतमा नृत्य प्रशिक्षण गराइरहेका छन् । पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्नका लागि अग्रज अभिनेता अभिनेत्री सरोज खनाल, गौरी मल्ल, सनी रौनियार, रमेश उप्रेती, दिपिल रायमाझी, दिपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, नृत्य प्रशिक्षणमा व्यस्त छन् । त्यस्तै समकालीन पुस्ताका अभिनेता अभिनेत्रीहरु– केदार घिमिरे, पुष्प खड्का, नीता ढुंगाना, पवित्रा आचार्य, बिमला के.सी., छुल्ठिम गुरुङ लगायत विभिन्न कलाकारहरु पनि नृत्य अभ्यासमा व्यस्त छन् ।