काठमाडौं । मधेसका नेता डा. सिके राउतको जिवनीमा आधारित रहेर फिल्म ‘डा. सिके राउतः द प्यासन’ निर्माण हुने भएको छ । यो फिल्ममा ५० प्रतिशत राउतको जीवनकथा र ५० प्रतिशत फिल्मी कथा देखाइनेछ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा निर्माण पक्षले आगामी छठको अवसर पारेर फिल्म रिलिज गरिने जानकारी दियो ।
घोषणा कार्यक्रममा निर्माण कम्पनी माँ राधिका इन्टरनेशनल मुभिजले केक काटेको थियो । डा. सिके राउतको उपस्थिती रहेको कार्यक्रममा फिल्मको निर्माण टिम र कलाकारलाई चिनाइयो । डा. राउतले आफूलाई डेढ महिना अघि फिल्म निर्माण टिमले भेट्न खोजेको र फिल्म निर्माणप्रति जोश र जागर देख्दा उक्त टिमप्रति आफू सकारात्मक भएको बताए । ‘मलाई भेट्न आउँदा खासै बिश्वास लागेको थिएन । पछि उहाँहरुले पटक पटक भेट्न खोज्दा समय दिएँ र पछि राम्रो मान्छे भेटेँ भन्ने लाग्यो ।’ राउतले कार्यक्रममा भने ।
विजेता गिरीको प्रस्तुति रहने फिल्ममा सन्तोष साहको निर्देशन रहनेछ । फिल्ममा भोजपुरी चलचित्रका सुपर पावर भनेर चिनिएका परदेशी शाहले डा. सिके राउतको भूमिका निभाउने छन् । फिल्ममा परदेशीका अलावा धुर्ब कोइराला,पुकार भट्टराई,बिशाल पहाडी,किरण थापा लगाएतका कलाकारको मुख्य अभिनय रहनेछ । एसोसियट निर्देशक नबराज शर्मा रहने फिल्मलाई पवन गौतमले छायांकन गर्नेछन् ।
रेवन्त बिक्रम थापाको द्वन्द निर्देशन रहने चलचित्रमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ । फिल्म नेपाली भोजपुरी र हिन्दी भाषामा बन्नेछ ।