बिग बोसमा देखिँदै आदित्यनारायण

मुम्बई(एजेन्सी) । भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १३ औं संस्करण चाँडै शुरु हुँदैछ । यो शोमा सहभागिता जनाउने प्रतियोगीका लागि धेरैको नाम अगाडि आइसकेको छ । यो शोमा पछिल्लो पटक नेपाली मूलका बलिउड गायक उदितनारायण झाका छोरा आदित्यनारायणले सहभागिता जनाउने तयारी भइरहेको छ ।

विवादास्पद छविका सेलिब्रेटीको सहभागिता रहने यो शोमा यसपटक आदित्यनारायण पनि देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आदित्य पनि पटक पटक विवादमा आइरहन्छन् ।  समाचार अनुसार हालै मात्र आदित्य र शोका निर्माताबीच भेट भएको छ । भेटमा दुबै पक्षले शोको नीति नियम र सम्झौताको विषयमा कुराकानी गरेका छन् ।

आदित्य टेलिभिजनमा होस्टका रुपमा निकै चर्चित अनुहार हुन् । उनले केही फिल्ममा बाल कलाकारका रुपमा पनि अभिनय गरेका छन् । उनले फिल्म ‘परदेश’ र ‘रंगिला’ जस्ता फिल्ममा बाल कलाकारका रुपमा काम गरेका हुन् । उनले सन् २०१० मा रिलिज हरर फिल्म ‘शापित’मा पनि काम गरेका थिए ।

आदित्य विवादमा आइरहने सेलिब्रेटी हुन् । सन् २०१७ मा एयरपोर्टका कर्मचारीलाई उनले दुव्र्यवहार गरेको भिडियो भाइरल भएको थियो । गत वर्ष उनको कारले एक रिक्सालाई ठक्कर दिँदा रिक्सा चालक गम्भीर घाइते भएका थिए ।