घरको व्यापारबाट दंग शर्मिला

काठमाडौं । गत साउन ३ गतेबाट रिलिज भएको फिल्म ‘घर’ले सुखद व्यापार गरेपछि निर्मात्री शर्मिला पाण्डे दंग छिन् । नेपाली फिल्म निर्माणमा सक्रिय पाण्डेले व्यापारिक सफलता यसअघिका फिल्मबाट चाख्न पाएकी थिइनन् । तर, यसपटक कम बजेटमा बनेको हरर फिल्मबाट उनले नाफा कमाउने देखिएको छ ।

शर्मिलाका अनुसार, यो फिल्मले दोश्रो साताको शनिबारसम्म आइपुग्दा १ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको छ । दोश्रो साताको शनिबार पनि काठमाण्डौका अधिकांश मल्टिप्लेक्समा फिल्म हेर्न दर्शकको चाप देखिएको वितरक करण श्रेष्ठले बताए ।

अर्पण थापाको निर्देशनमा तयार भएको फिल्ममा अर्पणका साथ बेनिशा हमाल, सुरक्षा पन्तको मुख्य भूमिका छ । निर्मात्री पाण्डेले भनिन्–‘फिल्मले १ करोड ग्रस कलेक्शन गरेको छ । हरर फिल्ममा पनि दर्शक भएको अनुभुती हामीले गरेका छौ ।’ शर्मिला अहिले नयाँ फिल्म ‘आमा’ निर्माण गरिरहेकी छिन् । डीएस डिजिटलले यो फिल्म निर्माण गरेको हो ।