काठमाडौं । आगामी साउन ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘हजार जुनीसम्म’का लेखक तथा निर्देशक विकासराज आचार्य फिल्मको रिलिज मिति नजिकिँदै जाँदा निकै प्रफुल्लित छन् । आफ्नो व्यानर भन्दा छुट्टै व्यानरमा रहेर फिल्म निर्देशन गरेका विकास मिलेको टिममा काम गर्न रमाइलो लाग्ने बताउँछन् ।
‘म तयार थिए र टिम बन्यो । त्यसपछि हामीले हजार जुनीसम्मलाई तयार गर्यौ । कथाको डिमाण्ड अनुसार नै कलाकारलाई चयन गर्यौ । नाई नभन्नु ल सिरिज केहि सेन्टिमेन्टल पनि छ । यसलाई भने रमाइलो फ्यामिली ड्रामा बनाउ भनेर पनि यो तयार गरेका हौ’, विकास भन्छन्, ‘प्रेम उही हो । पारिवारिक ड्रामा नै हो तर पनि प्रस्तुतीकरण र कथ्य शैली भने फरक छ । नाई नभन्नु ल भन्ने वितिकै एउटा सेन्टिमेन्टल सिरिज नै दर्शकको अपेक्षा हुन्छ । एउटा छुटै छाप परिसकेको छ त्यसको । तर , यो रमाइलो पारिवारिक फिल्म हो । नाई नभन्नु ल सिरिज रुचाउने दर्शकलाई यो त मन पर्छ नै साथै एउटा कलरफुल फिल्म रुचाउने दर्शकले पनि यसमा इन्जोय गर्नु हुन्छ । मेरो प्याटर्न त छ नै तर यसपटक केहि नयाँ पनि छ ।’
फिल्ममा आर्यन सिग्देल , स्वस्तिमा खड्का , सलोन बस्नेत , संचिता लुइँटेल , शिवहरी पौडेल , अखिलेस प्रधान , संचिता लुइँटेल र अनुभव रेग्मी लगायतको अभिनय रहेको छ । फिल्मलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ ।
निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन् । फिल्ममा आर्यनसंगै स्वस्तिमा खड्का , संचिता लुइँटेल , शिवहरि पौडेल , सलोन बस्नेत , अनुभव रेग्मीसंगै अखिलेस प्रधानको अभिनय रहेको छ । फिल्ममा कविराज गहतराजको नृत्य , उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । यसमा विशाल चाम्लिङ निर्माता छन् भने कार्यकारी निर्मात्री कविता रेग्मी हुन् ।