काठमाडौ । आगामी भदौ ६ गतेबाट रिलिज हुने फिल्म ‘जाइरा’ को एक्सनलाई धेरैले रुचाएका छन् । फिल्मको सार्वजनिक ट्रेलरमा एक्सनलाई प्राथमिकता दिएका कारण पनि यसको एक्सनलाई रुचाइएको छ । एक्सनमा विशेषत नवनायिका सिर्जना रेग्मीको भिलेन एक्सन उस्तै हेर्नलायक छ । ट्रेलरमा दमदार एक्सनमा देखिएका सिर्जनालाई फिल्ममा कस्तो एक्सनमा देखाइएको छ भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ ।
फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठको प्रमुख भूमिकामा छिन् । उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । फिल्ममा उनलाई एक्सन गर्दै गरेको देख्न सकिनेछ । पर्दामा लभर गर्लको भूमिकामा निकै रुचाइएकी उनले पहिलो पटक एक्सन भूमिका निर्वाह गरेकी हुन् । यो उनको फिल्मी करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका मानिएको छ । एक महिलाले लिने प्रतिशोधको कथामा फिल्म निर्माण गरिएको बताईएको छ ।
नव अभिनेत्री रेग्मी फिल्ममा भिलेन ’बुलेट’को भूमिकामा छिन् । फिल्ममा अभिनेत्री नम्रता र उनले जबरजस्त लडाईं गरेका छन् । ट्रेलरमा पनि त्यसको केही दृश्य अटाइएको छ । अभिनेत्री नम्रताका अनुसार, फिल्ममा अहिलेसम्मकै पावरफुल फिमेल भिलेनको क्यारेक्टर श्रृजनाले निभाएकी छन् ।
फिल्मको ट्रेलर सार्वजनिक भएपछि श्रृजनाको लुक्स र एक्सनको सर्वत्र प्रशंसा भइरहेको छ । ट्रेलरको एक दृश्यमा उनको बाइक स्टन्टले अझ धेरैको ध्यान खिचेको छ । फिल्म रिलिज अगावै उनलाई एक्सनमा राम्रो सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेर्न थालिएको छ । उनी पनि यो फिल्मलाई लिएर आफू निकै आशावादी रहेको बताउँछिन् । फिल्ममा आफूले एक्सनमा निकै मेहनत गरेको उनको भनाई छ ।
नम्रता र श्रृजनाका अलावा फिल्ममा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगरलगायतको पनि अभिनय छ । यसलाई आशुतोषराज श्रेष्ठले निर्देशन गरेका हुन् । पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन्। कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको यसका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । बाबु श्रेष्ठले फिल्म खिचेका हुन् ।