गाउँले विदेश पठाउँदै अंकित

काठमाडौं । नायिका साम्राज्ञ राज्यलक्ष्मी शाह र नवनायक अंकित शर्माको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘रातो टिका निधारमा’को ट्रेलर सार्वजनिक भएको छ ।सार्वजनिक ट्रेलरमा नवनायक अंकितलाई विदेश पठाउने एजेन्टको रूपमा प्रस्तुत गरिएको छ । तर उनी एजेन्ट हुन् वा होइनन् भन्ने कुरा थाहा पाउन दर्शकले असोज १० गते नै पर्खिनुपर्नेछ । जुन दिन यो फिल्म रिलिज हुनेछ ।

ट्रेलरमा साम्राज्ञीलाई गाउले युवतीको भूमिकामा देखाइएको छ भने अंकितलाई वैदेशिक रोजगारीमा पठाउने एजेन्टको चरित्रमा देखाइएको छ । ट्रेलरमा भरपुर कमेडीसँगै केही भावुक क्षण पनि देखाइएको छ । अंकित निर्देशक अशोक शर्माका छोरा हुन् । अशोकले यो फिल्मको निर्देशन गरेका हुन् ।

फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले फिल्मको निर्माण गरेका हुन् । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ ।