इन्डियन आइडलबाट बाहिरिए अनु मलिक

मुम्बई(एजेन्सी) । यौन उत्पीडनको आरोप लागेपछि बलिउड संगीतकार अनु मलिक भारतीय रियालिटी शो इन्डियन आइडलको ११ औं संस्करणबाट बाहिरिनु परेको छ । आफूमाथि लागेको आरोपको विवाद बढ्दै गएको देखेपछि अनु आफैंले शो छोड्ने निर्णय लिएका हुन् । अनु निर्णायक बन्न इन्डियन आइडल गएपछि गायिका सोना महापात्रा लगातार च्यानलमाथि आवाज उठाइरहेकी थिइन् ।

गत वर्ष मीटू अभियानको समयमा गायिका सोनाले अनुमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । यो आरोपपछि अनुले इन्डियन आइडलको १० औं संस्करण छोडेका थिए । ११ औं संस्करणमा पनि अनु दोहोरिएपछि सोनाले सोनी च्यानलमाथि आवाज उठाइरहेकी थिइन् । सामाजिक सन्जालमा पनि प्रयोगकर्ताले सोनालाई समर्थन गरेपछि अनुले आइडल छोड्नुको विकल्प थिएन ।