हिजो आजका कुराको प्रदर्शन स्थगित

काठमाडौं । फिल्म ‘हिजो आजका कुरा–दि मुभी’को प्रदर्शन स्थगित गरिएको छ । कोरोना भाइरसका कारण विश्व नै लकडाउनको अवस्थामा रहेकाले फिल्म निर्माण कम्पनी पन्त फिल्म प्रोडक्सनले नयाँ वर्षको अवसरमा सोमबार एक विज्ञप्ती जारी गरी प्रदर्शन स्थगित गरिएको जानकारी दिएको हो ।

अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा साकार पन्त निर्देशित फिल्म यही वैशाख १२ गते प्रदर्शन हुने पूर्व तयारीमा थियो । निर्देशक साकारले उक्त मितिमै फिल्म प्रदर्शनका लागि सम्पूर्ण तयारी भइरहँदा अहिलेको विषम परिस्थितिले गर्दा हाललाई फिल्म प्रदर्शन स्थगित गरिएको निर्देशक साकारले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

‘यहाँहरुले हामी र हाम्रो चलचित्रप्रति देखाउनु भएको माया र भरोसाप्रति हामी नतमस्तक छौं । जनजीवन सामान्य अबस्थामा फर्किएपछि हामी हाम्रो चलचित्रको नयाँ प्रदर्शन मिति तय गर्ने छौं,’ विज्ञप्तीमा निर्देशक पन्तले उल्लेख गरेका छन् । उनले केही समयअघि सार्वजनिक आफ्नो फिल्मको ‘माया जदौ’ गीतलाई दर्शकले अत्याधिक मन पराएकाले आफूहरुलाई थप हौसला मिलेको र भविष्यमा समेत अझ बढी माया र साथ पाउने आशा वयक्त गरेका छन् ।

फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रिमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् । रवि सायमीले खिचेको फिल्ममा सन्दीप किस्नाको पटकथा छ । फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त, सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । फिल्मको ‘माया जदौ’ गीत युट्युवमा अहिलेसम्म झण्डै ७७ लाख पटक हेरिसकिएको छ ।