जोलीकी डुप्लिकेट फतेमेहलाई कोरोना संक्रमण

तेहरान(एजेन्सी) । हलिउड स्टार एन्जोलिना जोलीको भूत भनिने इरानकी इन्स्टाग्राम स्टार फतेमेह खशिवंदमा कोरोना भाइरस पोजिटिभ भेटिएको छ । उनी गत वर्ष भगवानलाई निन्दा गरेको र युवालाई भ्रमित गरेको आरोपमा गिरफ्तार भई जेलमा बसिरहेकी छन् । उनलाई जेलमा नै कोरोनाको इन्फेक्सन भएपछि भेन्टिलेटरमा राखिएको छ । खशिवंदलाई जोलीको डुब्लिकेट पनि भन्ने गरेका छन् । इरानमा हालसम्म ७७ हजार ९ सय ९५ जना संक्रमित भइसकेका छन् भने चार हजार ८ सय ६९ जनाको निधन भइसकेको छ ।

इरानका अमेरिकन सेन्टर फर ह्युमन राइट्सका वकिल पयम दरफशनले फतेमेहकै जस्तो अपराधमा हिरासतमा राखिएका अन्य कैदीहरुलाई रिहा गरिए पनि फतेमेहले गरेको याचिका पटक पटक खारेज गरिएको आरोप लगाइन् । ‘फतेमेहको मुद्धाको सुनुवाई गर्ने न्यायाधिस पनि अहिले अदालतमा भेटिँदैनन् । जेलमा फतेमेहको अवस्थाका लागि न्यायधिस नै जिम्मेवार छन्’, पयमले भनेकी छन् ।

सामाजिक सन्जालमा सहर नाम राखेकी फतेमेहले सन् २०१७ मा एन्जोलिना जोली जस्तो बन्नका लागि करिब ५० सर्जरी गराएकी थिइन् । उनले त्यही समयमा आफ्नो वजन ४० किलो भन्दा माथि हुन नदिएको बताएकी थिइन् । तर उनले जोली जस्तो देखिनका लागि आफ्नो वास्तविक रुप नै गुमाईन् ।