मुम्बई(एजेन्सी) । बलिउडकी पाश्र्व गायिका नेहा कक्कडले केही समय अघि गायकगायिकालाई गीत गाएवापत पारिश्रमिक नदिइने गरेको गुनासो गरेपछि सामाजिक सन्जालमा गरमागरम बहस भयो । यो कुरालाई समर्थन गर्दै गायक आदित्य नारायण झाले पनि बलिउडमा गायकगायिको एक पैसा पनि नपाउने गरेको बताएपछि बलिउडको संगीतको अवस्थाबारे प्रश्न उठ्न थालेको छ । उनले संगीत उद्योगमा पनि महामारीको अवस्था आएको बताएका थिए ।
गायिका नेहाले आफूहरुले बलिउडमा गीत गाउँदा पैसा नपाउने गरेको बताएकी थिइन् । ‘मानिसहरु एक सुपरहिट गीत गाएर हामी धेरै पैसा कमाउछौं भन्ने सोच्दछन् । लाइभ कन्सर्टसँगै अन्य स्थानमा आफ्नो कामबाट राम्रो पैसा कमाउछन् भन्ने बुझाई छ । तर वास्तविकता त्यो होइन्’, नेहाले भनेकी छन्, ‘हामीलाई गीत गाउन लगाउँछन्, तर पैसा दिँदैनन् ।’
आदित्यले पनि नेहाको कुरामा सहमति जनाए । ‘हामीलाई एक रुपैंयाँ पनि मिल्दैन । यस्तो लाग्छ कि हामीलाई गीत गाउन बोलाएर उनीहरुले हामीमाथि गुन लगाइरहेका छन् । मलाई सित्तैमा कुनै पनि काम गर्न दिक्क लाग्छ । मानिसहरु गीत गाउँदा एक्सपोजर मिल्छ भन्छन्, तर एक्सपोजरले के गर्ने ?’ आदित्यको प्रश्न छ, ‘यदि मसँग घर चलाउन र आफ्नो जरुरी कुरालाई पुरा गर्न पैसा नै छैन भने म एक्सपोजरलाई के गर्नसक्छु ? त्यसकारण गायकगायिकालाई शोषण गर्न बन्द गर्नुहोस् ।’
प्रख्यात पाश्र्वगायक उदित नारायणका छोरा आदित्य एक गीत गाउन २० गायकगायिका प्रयोग गर्ने बानीले समस्या निम्तिएको बताउँछन् । ‘२० गायकगायिकाले गाएको गीतमध्ये एउटा गीतलाई प्रयोग गरिन्छ । त्यसपछि एक कम्पनी, एक निर्माता र एक अभिनेताले कसको भर्सन राख्ने भनेर निश्चित गर्छन् । मैले यस्तो काम अन्य पेशामा देखेको छैन’, आदित्य आक्रोश पोख्छन्, ‘तपाईं कुनै एक दृश्य खिच्नका लागि २० कलाकारलाई बोलाउनु हुन्नँ ।’