लकडाउनमा क्वारेन्टाइन अवार्ड

मुम्बई(एजेन्सी) । कोरोना भाइरसको महामारीले विश्वको अवस्था बदलिएको छ । आम मानिसको काम गर्ने शैली पनि फेरिएको छ । लकडाउनले अन्य क्षेत्र जस्तै मनोरन्जन क्षेत्र पनि ठप्प छ । यही मेसोमा भारतमा टेलिभिजनको पहिलो अवार्ड शो आयोजना हुँदैछ । जसको नाम ‘गोल्ड क्वारेन्टाइन अवार्ड’ राखिएको छ । यो अवार्डलाई टेलिभिजनको सबैभन्दा ठूलो शो मानिएको छ । विगतका कैयौं वर्षदेखि नै गोल्ड अवार्डका माध्यमबाट कैयौं टेलिभिजन कलाकारले कामको पहिचान पाएका छन् । तर यसपटक कोरोना भाइरसको कारण यो अवार्ड टेलिभिजनमा भने प्रसारण गरिने छैन ।

अवार्डका सीइओ विकास कलान्त्रीले यसपटकको अवार्ड कुनै च्यानलबाट प्रसारण नभई आगामी मे १४ मा सामाजिक सन्जालमार्फत विजेताको नाम घोषणा गरिने बताए । यो अवार्डमा अनौठा किसिमका विधा राखिएको छ । जसमा मस्ट स्टाइलिस्ट स्टार, बेस्ट क्वारेन्टाइन शेफ, सेफ्टी फस्र्ट स्टार, सुपर कूल पेरेन्ट्स, मस्ट इनर्जेटिक स्टार, होम स्वीट होम स्टार, मस्ट इन्टरेक्टिव स्टार, एन्टरटेनिङ फ्यामिली, फिट एण्ड हेल्दी स्टार, माय ड्रीम स्टार, फन एण्ड फ्रेश कपल, अलवेज अवेलेबल स्टार, मस्ट फोटोजेनिक स्टार, गो अन डेट स्टार र लकडाउन किङ एण्ड क्वीन जस्ता विधा छन् ।

‘हामीले यो विशेष क्वारेन्टाइन अवार्ड निकालेका छौं । यसमा विधा पनि विशेष किसिमका छन् । यसको परिणाम फ्यान र जुरी प्यानलको भोटिङको आधारमा हुनेछ । अहिलेलाई हामी सामाजिक सन्जालबाट विजेता घोषणा गर्नेछौं । अवस्था सामान्य भएपछि टेलिभिजनबाट पनि देखाउने योजना बनाइरहेका छौं’, कलान्त्रीले भनेका छन् ।  अवार्डको प्रक्रिया शुरु भइसकेको छ । सिइओ कलान्त्री आफ्नो सामाजिक सन्जालमा हरेक विधा शेयर गरिरहेका छन् र विधासँग सम्बन्धित प्रतिक्रियालाई दर्शकहरु उक्त सेक्सनमा राख्दछन् । यो अवार्ड विगत १२ वर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको छ ।