मोबाइल चलाउदै बाटोमा हिँड्न रोक

टोकियो(एजेन्सी) । जापानमा मोबाइल हेर्दै बाटोमा हिड्नाले दुर्घटनाको संख्या बढेपछि यहाँको सरकारले यसलाई रोक्न कानुन बनाउने तयारी गरिरहेको छ । यो कानुनलाई पहिलो चरणमा ट्रायलका लागि मध्य जापानको यामातो सहरमा लागु गरिनेछ । जापानमा सहरका लागि पार्षदहरुले कानून बनाउने अधिकार छ । यो कानुनलाई लिएर यामातोको सिटी काउन्सिलमा बहस भइरहेको छ ।

स्थानीय सोरा न्यूज २४ का अनुसार सहरको प्रशासनले यो कानून एक ताजा सर्वेक्षणपछि लागु गर्ने निर्णय लिएको छ । यो सर्वेक्षणमा यामातोको दुई रेल्वे स्टेसनमा ६ हजार मानिसलाई सहभागी गराइनेछ । जसमा अधिकांश पैदल यात्राको दौरान मोबाइल चलाउने व्यक्तिहरु हुनेछन् ।

जूनको मध्यमा यामातोको सिटी काउन्सिलले यो कानुनका विषयमा भोटिङ गर्ने सम्भावना छ । यदी यो बिलले कानुनका रुपमा अख्तियार लियो भने यामाटो फोन चलाउँदै यात्रा गर्न प्रतिबन्ध लगाउने जापानको पहिलो सहर हुनेछ । यो प्रयोग सफल भएमा यसलाई जापानभर लागु गराउने सोच स्थानीय सरकारहरुले बनाइरहेका छन् । नयाँ कानुनलाई जुलाई १ बाट लागु गरिनेछ ।

नयाँ कानुन स्मार्टफोन या अन्य डिभाइसको स्क्रिनमा टकटकी लगाएर हिड्ने तरिकालाई परिभाषित गर्नेछ । यसको उल्लंघन गरेमा जरिवानाको पनि व्यवस्था गरिएको छ । स्थानीय प्रशासनले पनि मानिसहरुलाई स्मार्ट फोनको प्रयोग गर्नु परे अर्को व्यक्तिलाई अवरोध नहुने स्थानमा गएर गर्न भनेको छ ।