बोर्ड अध्यक्ष दयारामलाई फिल्म सोसाइटीको बधाई

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहाललाई नेपाल फिल्म सोसाइटीले बधाई दिएको छ । गत जेष्ठ २२ गते बसेको मन्त्रीपरिषद बैठकले फिल्मकर्मी दयाराम दाहाललाई चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गरेकोमा सोसाइटीका अध्यक्ष तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष कृष्ण मल्लको नेतृत्वको समूहले भेटेर बधाई दिएको हो ।

कार्यक्रममा मल्लले नवनियुक्त अध्यक्ष दाहालको कार्यकालमा समग्र चलचित्र क्षेत्रको विकास विस्तार एवं पेशाकर्मीको संरक्षण र उत्थानमा महत्वपूर्ण पहलकदमी हुने आशा व्यक्त गरे । कोभिड–१९ तथा लकडाउनले थला परेको फिल्म उद्योगलाई चलायमान बनाउन, फिल्मकर्मीहरुलाई प्रोत्साहन गर्न र यस संकटको घडीमा ठप्प भएको फिल्म क्षेत्रलाई पुनः संचालन गर्न सुझाव दिए । उनले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन तथा विस्तार गर्न विभिन्न देशका राजदुताबासको सहयोगमा फिल्म दुत नियुक्त गर्नुपर्ने माग राखे ।

नवनियुक्त अध्यक्ष दाहालले फिल्म क्षेत्रको हित विपरित कहिल्यै काम नगर्ने प्रतिबद्धता व्यक्त गर्दै लामो समयदेखि आफू पनि फिल्म उधोगमा काम गरेको अनुभवले सम्पूर्ण फिल्मकर्मीहरुको दुख पिडा बुझेको हुँदा आफ्नो कार्यकालमा फिल्म क्षेत्रको उत्थानमा लागि पर्ने र यस विषम परिस्थितिमा सम्भावना र कार्यन्वयनका जटिलताका बारेमा अध्ययन गरि चलचित्रसँग सम्बन्धित कुनै पनि संघसंस्था माथि हस्तक्षेप नगरी चलचित्र उद्योगलाइ नयाँ उचाइमा पुर्याउने बताए ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, फिल्मकर्मीहरु अशोक शर्मा, उज्जवल घिमिरे, अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठ, गायक शंकरलाल श्रेष्ठ, एस के श्रेष्ठ, नारायण प्रधान, पुरन जोशी, राजेश बिसुराल, कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, निर्माता सुभाष थापालगायतको उपस्थिति थियो ।