सरोजको बायोपिक बनाउदै रेमो

मुम्बई(एजेन्सी) । बलिउडकी प्रख्यात कोरियोग्राफर सरोज खान हामीबीच छैनन् । केही समयदेखि अस्वस्थ उनको गत जूलाई ३ मा निधन भएको थियो । निधन पछि उनकी कान्छी छोरी सुकैना नागपालले आफ्नो आमाको जीवनमाथि रहेर कसैले बायोपिक बनाउन लागेको बताएकी छन् । अर्का कोरियोग्राफर रेमो डिसूजाले पनि सरोजसँग उनको बायोपिक बनाउने विषयमा केही महिना अघि छलफल गरेका थिए ।

‘आमाको बायोपिक बनाउने कुरा तीनजनासँग भएको थियो । सबैभन्दा पहिला फिल्म ‘हम–तुम’का निर्देशक कुणाल कोहलीले आमासँग गर्नुभएको थियो । तर केही कारणले यो कुरा विस्तारै सेलायो । हामीले पनि यो कुरालाई अगाडि बढाएनौं । यसपछि कोरियोग्राफर तथा निर्देशक बाबा यादवकी श्रीमतिले आमासँग उनको जीवनमा आधारित रहेर एक वेभ सिरिज बनाउने कुरा गर्नुभएको थियो । त्यसपछि मात्र कोरियोग्राफर तथा निर्देशक रेमो डिसूजाले आमालाई उहाँको बायोपिक बनाउने कुरा गर्नुभएको थियो,’ उनले भनेकी छन् ।

उनले आफूले आमासँग ‘तपाईंको बायोपिक बनाउन तीन निर्देशकले चासो देखाएका छन् । कोसँग काम गर्न चाहनुहुन्छ ?’ भनेर सोधेको बताइन् । ‘आमाले त्यस बेला रेमो डिसूजासँग आफ्नो जिन्दगीको कथामा फिल्म बनाउन चाहेको बताउनुभएको थियो’, उनले भनेकी छन् ।

सुकैनाले रेमोसँग काम गर्ने बारे आफ्नै धारणा व्यक्त गरेकी थिइन् । ‘किनकी रेमोको जिन्दगीको कथा पनि जिरोबाट हिरो बन्ने नै छ । उनी पनि जमिनबाट माथि उठेर आज यति ठूलो निर्देशक भएका छन् । रेमो र म प्रोफेसनमै छौं । त्यसकारण राम्रो किसिमले कथा, वर्तमान अवस्था र एक कोरियोग्राफरको जीवनमा आउने उतारचढावलाई उसले राम्रोसँग बुझ्न सक्छ । त्यसकारण रेमोले नै मेरो जीवनकथालाई दर्शकमाझ देखाओस्’, आमाको भनाई उदृत गर्दै सुकैनाले भनेकी छन् । आमाले आफूलाई फिल्म ‘कलंक’को सुटिङको समयमा बायोपिकको कुरा गरेको खुलाइन् ।