खाना भन्दा बढी औषधि खान्छन् अमिताभ

मुम्बई(एजेन्सी) । बलिउडका मेगास्टार अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको छ । दुवैले यो कुराको जानकारी सामाजिक सन्जालमा राखेपछि उनका शुभचिन्तकले स्वास्थ्यलाभको कामना गरेका छन् । चिकित्सकका अनुसार अमिताभको अवस्था स्थिर छ र डराउनुपर्ने केही कारण छैन ।अमिताभ धेरै समयदेखि कैयौं पटक बिरामी भइसकेका छन् । उनले स्टारडमसँगै जीवनमा अनेक किसिमका समस्या झेलिसकेका छन् । तर उनले एक लडाकुको रुपमा सबै समस्यासँग जुधिसकेका छन् । अमिताभ उमेरले ७८ वर्ष पुगिसकेका छन् । यो भाइरसको असर बढीमात्रामा वृद्ध व्यक्ति र बालबालिकामा हुने बताइएको छ । यस्तो अवस्थामा अमिताभलाई बढी सावधानी अपनाउनु जरुरी देखिएको छ ।

अमिताभ अनेक किसिमका बिरामीसँग जुधिरहेका छन् । उनी लामो समयदेखि अनेक किसिमका औषधिको सेवन गरिरहेका छन् । केही महिनाको अन्तरमा उनको नियमित स्वास्थ्य परीक्षण पनि भइरहेको छ । उनी खाना भन्दा पनि बढी औषधि सेवन गर्छन् । त्यसकारण पनि आम मानिसको उनीप्रति चिन्ता बढ्नु स्वाभाविक नै हो । आफ्नो कामलाई लिएर अमिताभ निकै सक्रिय छन् । जुन उमेरमा मानिसहरु अवकासको सोच बनाउछन्, त्यो उमेरमा अमिताभ झन बढी सक्रिय छन् । उनी जिममा घण्टौं पसिना बगाउछन्, वर्कआउट गर्छन्, अबेर रातीसम्म सुटिङ गर्छन्, ट्वीट गर्छन् र ब्लग लेख्छन् । पछिल्लो दिनमा स्वास्थ्यमा केही समस्या देखिएपछि चिकित्सकले उनलाई आराम गर्न सल्लाह दिएका थिए । तर उनले ती कुरालाई ध्यान दिएका छैनन् ।

अमिताभले हालसम्म अनेक किसिमको चोट र बिरामीसँग लडिसकेका छन् । जसमा ट्युबरक्लोसिस, हेपेटाइटिस बी र मिस्थानिया ग्राभिस जस्ता रोग छन् । ७० र ८० को दशकमा स्टन्ट गरेको कारण लागेको चोटले उनको गला र काँधमा चोट लागेको छ । सन् १९८२ मा फिल्म ‘कुली’को सेटमा भएको घटना सर्वविदितै छ । एक फाइटको सिक्वेन्सका समयमा उनको पेटमा यति गहिरो चोट लाग्यो कि उनी अस्पतालमा नै भर्ना हुनुपर्यो ।

अमिताभले सन् २०१५ मा आफ्नो शरीरमा केवल २५ प्रतिशत कलेजोले काम गरिरहेको बताएका थिए । फिल्म ‘कुली’मा दुर्घटना हुँदा ६० बोतल रगत दिनुपरेको थियो । त्यो बेला एक हेपाटाइटिस बीका बिरामीको रगत पनि उनको शरीरमा गएको थियो । जसकारण उनले ७५ प्रतिशत कलेजो नोक्सान भएको थियो ।