पतिबाट अलग्गिइन् मिनीषा

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री मिनीषा लाम्बाले पति रियान थामसँग सम्बन्धविच्छेद गरेकी छन् । सन् २०१८ देखि नै मिनीषा र उनको पति अलग्गिएको खबर आए पनि मिनीषाले यो विषयमा मुख खोलेकी थिइनन् । मिडियाले यो विषयमा कैयौं कुरा गर्ने प्रयास गरे पनि उनी मौन नै रहेकी थिइन् ।

मिनीषाले यति लामो समयसम्म न त केही बोलिन्, न त सामाजिक सन्जालमा यो विषयमा कुनै पोस्ट गरिन् । तर अहिले भने मिनीषा आफैंले पतिबाट अलग भएको बताएकी छन् । ‘हो, म र रियान आपसी सहमतिबाट अलग्गिएका हौं । कानूनी प्रक्रिया पनि पुरा भइसकेको छ’, उनले भनेकी छन् ।

मिनीषा र रियानको भेट सन् २०१३ मा जूहूको एक नाइट क्लबमा भएको थियो । यो भेट पछि उनीहरु प्रेममा परे र दुई वर्षसम्म डेट गरे । सन् २०१५ दुबैले सामान्य किसिमले विवाह गरे । रियान एक रेष्टुरेन्टका मालिक हुन् । मिनीषा बलिउडकी अभिनेत्री भए पनि उनी लामो समयदेखि बलिउडबाट अलग्गिएकी छन् ।

मिनीषाले आफ्नो करियरको शुरुवात सन् २००५ मा रिलिज फिल्म ‘यहाँ’बाट गरेकी थिइन् । यसपछि उनले फिल्म ‘हनिमून ट्राभल्स प्राइभेट लिमिटेड’, ‘दस कहानियाँ’, ‘किडन्याप’ र ‘बचना–ए–हसिनों’ मा अभिनय गरिन् । यी फिल्मपछि मिनीषा कुनै पनि फिल्ममा प्रमुख नायिकाको रुपमा देखिइनन् । सन् २०१८ मा उनी टेलिभिजन सिरियल ‘इन्टरनेटवाला लभ’मा देखिएकी थिइन् ।