विवाहमा नाच्दा ८ करोड पारिश्रमिक

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खानको चर्चा ठूलो र सानो पर्दा दुवैमा मात्र सीमित छैन, उनको लोकप्रियता वैवाहिक समारोहसम्म छ । हरेक विवाहमा बेहुला र बेहुली नै आकर्षणको केन्द्र बन्दछन् । तर यस्तो समारोहमा आफूलाई मनपर्ने कलाकारको उपस्थिति भइदियो भने त्यो भन्दा खुशी बेहुला बेहुलीलाई अरु के नै होला र ।

भारतमा बिग फ्याट वेडिङको चलन निकै लोकप्रिय छ । यस्तो कार्यक्रममा मानिसहरु आफ्नो विवाहमा करोडौं रुपैंयाँ खर्च गर्छन् । यस्तो बेला उनीहरु आफ्नो विवाहमा बलिउड स्टारलाई बोलाउनका लागि करोडौं रुपैंयाँ खर्च गर्छन् । समाचार अनुसार शाहरुखले दुबईको एक हाई प्रोफाइल विवाहमा आफ्नो प्रस्तुति दिनका लागि करिब ८ करोड रुपैंयाँ पारिश्रमिक लिएका थिए ।

शाहरुख निकट स्रोतका अनुसार शाहरुख आफ्नो व्यस्त जीवनका कारण धेरै विवाहमा चासो दिँदैनन् । यही कारणले शाहरुख वर्षका केही छानिएका विवाहमा मात्र सहभागिता जनाउछन् । उनी व्यक्तिगत रुपमा चिनिएका व्यक्तिका विवाहमा मात्र गएर आफ्नो प्रस्तुति दिने गर्दछन् । केही वर्षअघिसम्म शाहरुख विवाहमा नाच्दा एक करोड पारिश्रमिक लिने गर्दथे ।