छोटा पहिरन र टपलेसमा प्रतिबन्ध

फोन पेन्ह(एजेन्सी) । कम्बोडियाको सरकारले महिलाहरुले छोटो कपडा लगाउनेका विरुद्ध जरिवाना गर्ने कानूनको मस्यौदा तयार पारेको खबर सुनेपछि १८ वर्षीया मोलिका टेनले यसका विरुद्ध अनलाइन अपिल गरिन् । प्रस्तावित कानूनका अनुसार कम्बोडियाली महिलाहरुलाई कम या भड्काउ कपडा लगाउन र पुरुषलाई टपलेस हुन रोक लगाइनेछ । सरकारले सांस्कृतिक परम्परा र सामाजिक प्रतिष्ठालाई बचाउने प्रयास अनुरुप यो कानून ल्याइएको जनाएको छ । तर कैयौं मानिसले यो नियमको विरोध गरेका छन् ।

मोलिका सरकारको यो कदमलाई महिलामाथिको हमला मान्दछिन् । ‘एक कम्बोडियाली युवाको रुपमा म बाहिर सुरक्षित महशुस गर्न चाहन्छु र त्यो कपडा लगाउन चाहन्छु, जुन मलाई सहज हुन्छ । म आफ्नो कपडाका माध्यमबाट आफैंलाई व्यक्त गर्न चाहन्छु । त्यसकारण सरकारले मलाई बन्देज लगाओस् भन्ने म चाहन्नँ’, उनले भनेकी छन्, ‘महिलालाई छोटो स्कर्ट लगाउन रोक्ने कामका लागि कानून लागु गराउनुको सट्टा सांस्कृतिक परम्परालाई बनाउनका लागि अन्य तरिका पनि छन् । हामी जहिल्यै पनि पुरुषको अधिनमा बसौं भन्ने मान्यता राख्छन् ।’ उनले गत महिना अनलाइनमार्फत गरेको अपिलमा २१ हजार भन्दा बढीले हस्ताक्षर गरिसकेका छन् ।

कम्बोडियाका कैयौं महिलाहरु जागरुकता बढाउनका लागि स्विमवियर वा सर्ट लगाएर आफ्नो तस्बिर पोस्ट गरिरहेका छन् । उनीहरुले ‘के मलाई यही कारण सरकारले जरिवाना लगाउन लागेको हो ?’ भनी लेखेका छन् ।

हालैको वर्षमा सरकारले महिलाहरुले शरीर देखाउने कपडा लगाएको भन्दा फिल्मका कलाकार तथा गायकगायिकालाई पनि त्यस्तो काममा रोक लगाउने निर्णय गरेको थियो । गत अप्रिलमा एक महिलालाई सामाजिक सन्जालमा पोर्नोग्राफी र उत्तेजक देखिने पहिरन लगाएको भन्दै ६ महिना जेल सजाय सुनाइएको थियो । प्रधानमन्त्री हुन सेनले त्यो समयमा महिलाको लाइभ स्ट्रीमिङलाई आफ्नो परम्परा र संस्कृतिको उल्लंघन बताउदै यस्तो व्यवहारले यौन उत्पीडन र महिला हिंसाको कारण बन्ने दाबी गरेका थिए ।