काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा आधारित भएर निर्माण भएको फिल्म ‘कोपिला’ ओएसआर डिजिटलको दामी म्युजिक एपमा रिलिज भएको छ । केही समयअघि डिस होममा रिलिज भएको फिल्म शुक्रवारबाट मोबाईल थिएटरमा रिलिज भएको हो । फिल्मको शुक्रवार दामी म्युजिक एपको मोबाईल थिएटरमा दैनिक ४ शो रिलिज भइरहेको छ ।
प्रति टिकट ७५ रुपैया कायम गरिएको मोबाईल थिएटरमा मोबाईल थिएटरको हल वानमा कोपिला रिलिज गरिएको हो । ओएसआर डिजिटलसँगको सहकार्यमा सञ्चालित दामी म्युजिक एपको मोबाईल थिएटरमा ४ वटा पर्दा रहेको छ । हरेक शुक्रवार नयाँ फिल्म यसमा निरन्तर रिलिज हुनेछ । एक पटक टिकट काटिसके पछि ७२ घण्टाभित्र फिल्म हेर्नुपर्नेछ । अन्यथा अर्को टिकट काट्नुपर्ने दामी म्युजिक एपको नियम छ ।
शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्मलाई सबैले राम्रो बनेको प्रतिक्रिया दिएका छन् । फिल्ममा कलाकारहरु गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायतको अभिनय रहेको छ ।
फिल्ममा निर्मलाको भूमिकामा संजीवनीले अभिनय गरेकी छिन् । यो उनको डेब्यू फिल्म भए पनि दर्शकले उनको अभिनय रुचाएका छन् । त्यस्तै, आमाको भूमिकामा रहेकी सरिता गिरिको अभिनयको पनि प्रशंसा भएको छ । फिल्ममा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति देखाइएको छ । फिल्ममा रामेश्वर कार्कीको छायांकन, दिपक शर्माको संगीत र समिर मियाँको सम्पादन रहेको छ ।