घरको दशैं सम्झिएर हरिको हिलो मैलो

काठमाडौ । अमेरिकाको टेक्ससमा बस्दै आएका गायक हरि लामिछानेको दशैं गीत ‘सुक्यो होला हिलो मैलो’को भिडियो सार्वजनिक भएको छ । उनकै संगीत र स्वरमा रहेको गीतको अडियो र भिडियो इन्टरनेटमार्फत सार्वजनिक गरेका हुन् ।

यसअघि ’साइन इन’ नामक गीति एलबम ल्याएका हरिको नयाँ गीतको भिडियो सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोले गाउँघर, परिवार, आमाबुबा, साथीसंगी, प्रेमीहरुको माया, चाडपर्वहरुलाई रंगीन बनाउने लिंगे पिङ, लंगुरबुर्जा, सयपत्री, जमरा र मिठो आशिर्वादको सम्झना गराउँछ ।

गीतमा बालकलाकारहरु आर्शिना भट्टराई र प्रनिश श्रेष्ठको साथमा सीमा ढकाल, सरिता राजथला, मनोज ओली, गणेश पाण्डे, एलिशा खनाल, आशुतोष सुवेदी लगायतको अभिनय रहेको छ । उत्सव दाहाल र आकाश रंजितको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ भने कन्सेप्ट जया शर्माको हो ।