तारक मेहताका लेखक अभिषेकद्वारा आत्महत्या

मुम्बई(एजेन्सी) । सब टेलिभिजनमा प्रसारण हुने चर्चित कमेडी सिरियल ‘तारक मेहताका उल्टा चश्मा’का एक लेखक अभिषेक मकवानाले आत्महत्या गरेका छन् । लेखकले गत साता आत्महत्या गरेका हुन् । आर्थिक संकटका कारण उनले आत्महत्या गरेको बताइएको छ ।

प्रहरीले लेखकले आफ्नो सुसाइड नोटमा ‘आर्थिक समस्या’का कारण आत्महत्या गरेको लेखेको बताएको छ । तर परिवारले लेखक साइबर फ्रड र ब्ल्याकमेलिङको शिकार भएको दाबी गरेको छ । उनको परिवार तथा निकट साथीहरुले उनको मृत्युपछि पनि गलत नम्बरबाट फोन आउने क्रम जारी रहेको जनाएका छन् ।

उनको मृत्युपछि आएका अधिकांश फोनमा उनले लिएको ऋण चुक्ता गर्नुपर्ने भन्दै धम्की दिइरहेका छन् । दिवंगत लेखकले आफूहरुबाट ऋण लिएको र त्यसलाई तिर्नुपर्ने भन्दै धम्की आइरहेको परिवारजनले जनाएका छन् । परिवारले यो विषयलाई फाइनान्सियल फ्रड भनेको छ । अभिषेकका भाइ जेनिसले मुम्बई प्रहरीलाई लेखकको इमेलमा पनि फाइनेन्सियल फ्रड आएको जानकारी दिएका छन् ।

अभिषेकको मृत्यु नोभेम्बर २७ मा भएको थियो । उनको शव मुम्बईको कान्दिवलीस्थित घरमा भेटिएको थियो । प्रहरीले उक्त घटनालाई आकस्मिक मृत्यु भनेको थियो ।