गीत थाँती राख्दै सकियो डिट्ठाको चंगा

काठमाडौं । टेलिभिजनको पर्दामा ‘डिट्ठा साब’का रुपमा परिचित किशोर भण्डारीको डेब्यु निर्देशन रहेको फिल्म ‘चंगा’को छायांकन सकिएको छ । निर्देशक भण्डारीका अनुसार फिल्मको एक गीतको छायांकन बाँकी राखेर बाँकी सुटिङ सकिएको हो । निर्देशक भण्डारीले फिल्मको सुटिङ सौहार्दपूर्ण वातावरणमा सकिएको बताए ।

‘विना अवरोध कलाकारको सहजपूर्ण अभिनयले सुटिङ सक्न कुनै समस्या भएन,’उनले भने,‘निर्धारित समयमै फिल्मको काम सकिएकोले हामी खुशी छौं । अब पोष्ट प्रोडक्सनको काम तिब्र रुपमा अघि बढ्नेछ । फिल्ममा बुद्धि तामाङ, राजन खतिवडा, अंकित खडका, कमलमणि नेपाल, लक्ष्मी बर्देवा, जीवन भट्टराई, प्रेम वर्षा, लखी भण्डारी र कृष्ण भण्डारीलगायतको अभिनय छ । कमेडी फ्लेबरमा बनेको फिल्ममा प्रकु पाण्डे कार्यकारी निर्माता छन् ।

रेश्मा तिमिल्सिना ‘बुनुमैचा’ निर्माता रहेको फिल्ममा रविन आचार्यको छायांकन, राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । नयाँ वर्षको जेठमा रिलिज हुने फिल्म कन्टिन्युअस मुभी मेकर्सको ब्यानरमा बनेको हो । फिल्मको छायांकन ललितपुरको दलचोकी र काठमाडौं उपत्यकामा गरिएको हो ।