ग्रीसको फेस्टिभलमा नेपाली जुनको

काठमाडौं । एभरेष्ट फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीले निर्माण गरेको सर्ट फिल्म ‘जुनको’ ४४ औं ड्रामा इन्टरनेशनल सर्ट फिल्म फेस्टिभलको उत्कृष्ट २२ मा परेको छ । यो फेस्टिभलका लागि संसारभरका सयौं फिल्मकर्मीले आफ्ना सर्ट फिल्म प्रतिस्पर्धामा सहभागी गराएका थिए ।

ग्रीसमा आयोजित उक्त फेस्टिभलमा ‘जुनको’ छनोट भएपछि उक्त फिल्मका निर्देशक तथा लेखक मिन्सो लिम्बुले खुसी ब्यक्त गरेका छन् ।

फिल्ममा गरिमा सिंह पेला, सरिता गिरी र सुवासले अभिनय गरेका छन् । फिल्ममा नीरज भुषालको छायांकन र राकेश शाहको सहायक छायांकन छ ।राजेन्द्र मोक्तानको कलर रहेको फिल्ममा पासाङ देवा शेर्पाको सम्पादन छ । उक्त फेस्टिभलमा छनोट भएपछि एभरेष्ट फिल्म एकेडेमीले खुसी ब्यक्त गरेको छ ।

‘यो खुसी हाम्रा लागि मात्र होइन समग्र नेपालीका लागि पनि हो’, एकेडेमीका अध्यक्ष सुनील थापाले भने, ‘अझ नेपाली फिल्मकर्मीका लागि त झनै विशेष खुसीको खबर हो ।’ फेस्टिभल आगामी सेप्टेम्बरको १२ देखि १८ सम्म ग्रिसमा आयोजना हुँदैछ ।