डब्बुको द डटरलाई तीन अवार्ड

काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित सर्ट फिल्म ‘द डटर’ले तीनवटा विधामा अवार्ड जितेको छ । काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डमा सम्पन्न चौथो संस्करणको ‘पिम नेपाल फिल्म फेस्टिबल–२०२१’ मा लघु चलचित्रको प्रतिस्पर्धामा ‘द डटर’ले तीनवटा अवार्ड जितेको हो ।

फिल्मबाट ‘सर्ट फिल्म’ विधामा ‘सर्वोत्कृष्ट नायक’को अवार्ड अभिनेता प्रवण भुषालले, ‘सर्वोत्कृष्ट अभिनेत्री’को अवार्ड गायिका तथा अभिनेत्री सरिता भारतीले र ‘सर्वोत्कृष्ट चरित्र अभिनेता’को अवार्ड ‘प्रेम पाण्डे’ले जितेका हुन् ।

प्रवणकै कथा रहेको फिल्ममा छोरी जन्माउन नचाहेकी एक आमालाई श्रीमान र डाक्टरले छोरीबारे सकारात्मक प्रभाव पारेर छोरी जन्माउन इच्छुक बनाउँछन् । ती महिलालाई समाजमा छोरी सुरक्षित छैन भन्ने भयले छोरी जन्माउने चाहना हुँदैन । फिल्ममा पटकथा, संवाद र निर्देशन डब्बु क्षत्रीको रहेको छ ।

फिल्ममा विशाल प्रजापतिको छायांकन, साहिल खानको सम्पादन, राजेन्द्र बजगाईंको पाश्र्व संगीत, रेनिस फागोको रंग संयोजन, मुकेश शाहको ध्वनी मिश्रण र गणेश बुढाथोकीको पब्लिसिटी रहेको छ ।

फिल्ममा प्रवण, सरिता, प्रेमसँगै ऋतु कोईराला, सुवास खडका, सुष्मा राई, लेखराज दाहाल, बेबी रोजा ढकाल, गंगा ठाकुुर र अप्रिसा भुषालको अभिनय छ । विलक्षण क्रियसनको व्यानरमा बनेको यो फिल्मलाई अप्रिसाले निर्माण गरेकी हुन् । यो महोत्सवमा ३५ वटा भन्दा बढी लघु चलचित्र चयन तथा अनलाईनबाट प्रदर्शन भएका थिए ।