अजब प्रेम कि गजब कहानी निर्देशकलाई जेल सजाय

मुम्बई(एजेन्सी) । भारतीय फिल्म निर्माता तथा निर्देशक राजकुमार सन्तोषीलाई साढे भारतीय एक अदालतले एक वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि साढे २२ लाख रुपैंयाँ चेक बाउन्सको मुद्धा परेको थियो । यही मामलामा उनी दोषी ठहरिएका हुन् । अदालतले उनलाई दुई महिनामा पैसा भुक्तान नगरे अर्को एक वर्षसम्म जेलमा बस्नुपर्ने भनेको छ ।

राजकुमारको अनिल जेठानीसँग निकै राम्रो सम्बन्ध थियो । जसकारण उनले आफ्नो व्यापार बढाउनका लागि जेठानीबाट पैसा लिएका थिए । यसको बद्लामा उनले साढे २२ लाख रुपैंयाँको तीन अलग—अलग चेक दिएका थिए । यद्यपि तीन वटै चेक बाउन्स भएपछि अनिलले पैसाका लागि मुद्धा दर्ता गरेका थिए । त्यसपछि अनिलले राजकुमारलाई कानूनी पत्र पठाएका थिए ।

तर राजकुमारले कुनै जवाफ नदिएपछि अनिलले सेक्सन १३८ को धारा अन्तर्गत मुद्धा चलाए । राजकुमारले आफूले सेलिब्रेटी भएको मूल्य चुकाइरहेको बताएका छन् । उनले आफूलाई न्यायपालिकाप्रति विश्वास रहेकाले यो मामलामा अपिल गर्ने जानकारी दिएका छन् ।

दुवैको मामला राजकोटको एडिसनल चीफ ज्यूडिशियल जजको अगाडि भएको थियो । जहाँ राजकुमाले वादीले ब्ल्याङ्क चेकलाई दुरुपयोग गरेको आरोप लगाएका थिए । उनले आफूले सबै पैसा फिर्ता गरेकोले कुनै पनि बाँकी नरहेको दाबी गरेका छन् ।

न्यायाधिशले दुवै पक्षको कुरा सुनेपछि राजकुमारलाई एक वर्षको सजाय सुनाएका हुन् । साथै उनले ६० दिनमा पैसा फिर्ता गर्नुपर्ने आदेश दिएको छ । राजकुमारले ‘दामिनी’, ‘घायल’, ‘फटा पोस्टर निक्ला हिरो’, ‘अजब प्रेम कि गजब कहानी’, ‘हल्ला बोल’, ‘खाकी’लगायतका फिल्म निर्देशन गरेका छन् ।