काठमाडौं । आगामी बैशाख २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘षट्कोण’को बिहिबार राजधानीमा पत्रकारमाझ फिल्मको बारेमा जानकारी दिएको छ । फिल्मको पहिलो पत्रकार भेटघाटमा फिल्मका मुख्य कलाकार कार्म, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, निर्देशक मिलन डि काप्री र निर्माता तथा अभिनेता विराज कडरिया उपस्थित थिए ।
निर्देशक मिलनले फिल्म युवाहरुको टिमले बनाएको साइकोलोजिकल थ्रिलर रहेको बताए । ‘हामी नेपालमा बन्ने अन्य फिल्मभन्दा केही फरक बनाउने कोशिस गरेका छौं । मेरो फिल्ममा हिरो हिरोइनको फाइट र नाचगान छैन्, तर कथा सुहाउँदो गीत चाँही राखेको छु’, उनले भने ।
अभिनेता कार्मले आफु नेपाली फिल्ममा स्टार बन्न नआएको बताए । त्यसैले पनि आफ्नो रोजाईमा फरक फिल्म बढि पर्ने सुनाए । ‘मेरो नामको अर्थ स्टार अर्थात् तारा भएपनि म तारा बन्नको लागि फिल्म क्षेत्रमा आएको होइन । मलाई स्टार बन्नु पनि छैन । स्टार भनेको चम्किरहने हो । मैले नाम त रोजें त्यो बेग्लै कुरा हो । मलाई कलाकारिता गर्नु छ विशुद्ध भुईंमा बसेर । तर, स्टार बन्ने मेरो इच्छा छैन ’, उनले भने ।
क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म आगामी बैशाख २३ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । कोरोना महामारी अगाडी नै निर्माण भएको फिल्मको सम्पुर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकाले अहिले समय उत्तम लागेकाले रिलिजको लागि तयार भएको निर्माण टिमको भनाई छ ।
फिल्ममा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।