काठमाडौं । उमङ्ग क्रिएशनको आयोजनामा हुन लागेको सन् २०२२ र २०७९ सालका लागि ‘ओरिफ्लेम मिस युनिभर्स नेपाल’को घोषणा गरिएको छ। विश्वकै प्रतिष्ठित प्रतियोगितामध्ये एक मिस युनिभर्स फ्रेन्चाइज अन्तर्गत नेपालमा तेस्रो पटक आयोजना हुन लागेको यो स्वतन्त्र प्रतियोगिता हो। राष्ट्रिय निर्देशक नगमा श्रेष्ठ तथा प्रबन्ध निर्देशक उद्धव अधिकारीको नेतृत्वमा हुन गइरहेको यस प्रतियोगिता आफैमा एक कोशे ढुङ्गा रहेको आयोजकले जनाएका छन् ।
ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२ (एमयूएन २०२२) समावेशिता र अवसरको जगमा उभिएर यस सौन्दर्य प्रतियोगिताको विरासत कायम राख्ने लक्ष्यमा अग्रसर रहेको आयोजकको दाबी छ । पछिल्ला दुई वर्षहरूमा जस्तै, एमयूएन २०२२ मा उचाइ र तौलको मापदण्ड नभई समलैङ्गिक महिलाहरूले समेत सहभागिता जनाउन पाउनेछन् ।
ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२ को ताज पहिरिने आकाङ्क्षा राखेर आफ्नो देशलाई ७१ औँ मिस युनिभर्सको मञ्चमा प्रतिनिधित्व गर्न चाहने सबै साहसी, सशक्त र सुन्दर युवतीहरूले मिस युनिभर्स नेपालको आधिकारिक एपमार्फत दर्ता गरी प्रतियोगितामा भाग लिन सक्नेछन् । यस एप गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोरमार्फत डाउनलोड गर्न सकिन्छ।
दर्ता अवधि मे ५ देखि दुई महिनासम्मको लागि खुला रहने छ । यस दुई महिने आवेदन अवधिमासहभागी हुन इच्छुक नेपाली तथा देश बाहिर रहेका युवतीहरूका लागि यथेष्ट समय मिल्नेछ। यो दुई महिने अवधिमा उमङ्ग क्रिएशनले नेपालभर सक्रिय रूपमा विभिन्न कार्यक्रम तथा कार्यशाला गर्ने घोषणा गरेको छ। यस दौरान वर्तमान एमयूएन २०२१ की विजेता सुजिता बस्नेत र एमयूएन समूहले काठमाडौँभरका कलेज र मलहरू भ्रमण गर्नेछ। साथै विराटनगर, वीरगन्ज, भरतपुर, बुटवल, नेपालगन्ज, पोखरा, सुर्खेतलगायत सबै प्रदेशका सहरहरूको पनि भ्रमण गर्नेछ।
आवेदन र दर्ता खुला गरेसँगै उमङ्ग क्रिएशनले एमयूएन२२ को चार महिने यात्राको महत्त्वपूर्ण मितिहरू समेत सार्वजनिक गरेको छ।
समयमा रितपूर्वक आवेदन दर्ता गर्नेहरू “योग्य” प्रतिस्पर्धी हुने र उनीहरुले मिस युनिभर्स नेपाल एपमार्फत विभिन्न भिडिओहरू सार्वजनिक गरेर आफूलाई सम्भावित विजेताको रूपमा प्रवर्द्धन गर्न सक्छन् ।
प्रतियोगीका प्रशंसकहरूले आफूलाई मन पर्ने प्रतिस्पर्धीको प्रोफाइल पच्छ्याउन सक्नेछन् र उनीहरूको भिडिओमा लाइक गरेर उनीहरूको ख्याति बढाई अर्को चरणमा पुग्न योग्य बन्न मद्दत गर्न सक्नेछन्।
क्वार्टर फाइनलमा स्थान बनाउन सफल यी दिग्गज प्रतिस्पर्धीहरूले एमयूएन२२ का प्रशिक्षकहरू, प्रतिष्ठित व्यापारिक व्यक्तिहरू तथा प्रेरणादायी सञ्चार व्यक्तित्वहरू सम्मिलित सत्रहरूमा सहभागी हुने मौका पाउने छन्।
क्वार्टर फाइनलमा चुनिएका प्रतिस्पर्धीहरूले चरणबद्ध रूपमा विभिन्न कार्यहरूको सामना गर्नु पर्ने हुन्छ जसले उनीहरूको मञ्चमा उपस्थिति, दर्शकहरूलाई मोहित र प्रभाव पार्न सक्ने खुबी र ब्रह्माण्डलाई प्रेरित गर्न सक्ने तत्परताको परीक्षण गर्ने छ।
निर्णायकहरूको अङ्क र प्रशंसकहरूको मतको आधारमा सेमी फाइनलका लागि प्रतिस्पर्धीहरू चुनिने छन्। यसरी चुनिएका प्रतिस्पर्धीहरू एमयूएन२२ को अन्तिम चरण स्वरूप बन्द सत्रमा सहभागी हुनेछन्।
आतिथ्य साझेदारको प्राङ्गणमा हुने यस चरणमा प्रतिस्पर्धीहरू १० दिनको अवधिमा एकपछि अर्को गर्दै विभिन्न प्रशिक्षण सत्रमा सहभागी हुनेछन्। विभिन्न प्रशिक्षकहरू तथा प्रायोजकहरूद्वारा प्रशिक्षण दिइने यस सत्रमा मिडिया प्रस्तुति समेत रहनेछ। यस बन्द सत्रले प्रतिस्पर्धीहरूलाई निखार्न र ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२ को ताज हासिल गर्नका निम्ति तयार गर्नेछ।
मिस युनिभर्स नेपाल २०२० र २०२१ का विजेताहरू क्रमशः अंशिका शर्मा र सुजिता बस्नेतले कायम गरेको विरासत नयाँ विजेतालाई हस्तान्तरण भएको हेर्न सारा नेपाल उत्सुक हुनेछ। सँगै उप(विजेताहरूको समेत घोषणा हुनेछ।
मिस युनिभर्स नेपाल २०२२ को विजेताले मिस युनिभर्सको ७१ औँ संस्करणको मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। उनलाई ताज वर्तमान मिस युनिभर्स नेपाल सुजिता बस्नेतले पहिराउने छिन्। उक्त ताज आयोजकको साझेदार बालाजी डायमन्डले बनाएको हो।
यस वर्ष साबिकको १० लाख नगद पुरस्कारको अतिरिक्त, मिस युनिभर्स नेपाल २०२२ को विजेताले विद्युतीय परिवहन (इमोबिलिटी) साझेदार न्यू (एनआइयू) नेपालको तर्फबाट विद्युतीय स्कुटर समेत प्राप्त गर्नेछिन्।