सिल्ली फोले केकीलाई सम्झायो विगत

काठमाडौं । राज बहादुर साने निर्देशित फिल्म ‘सिल्ली फो’ आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउँदै छ । आइतबार राजधानीमा फिल्मको एक पत्रकार भेटघाट कार्यक्रम राखिएको थियो । कमेडी जनरामा निर्माण भएको फिल्मको पत्रकार भेटघाट कार्यक्रममा अभिनेत्री केकी अधिकारी पनि उपस्थित थिइन् ।

फिल्ममा केकी अधिकारी एक मात्र मुख्य महिला कलाकारको रुपमा छिन् । सिल्ली फोमा उनी अभिनयमा संघर्ष गरिरहेको एक युवतीको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा अभिनय गर्दा आफूले आफ्नो संघर्षका दिन सम्झिएको केकी सम्झिएको बताउँछिन् । फिल्ममा राजाराम पौडेल र रविन्द्र झाको पनि मुख्य भुमिका रहेको छ ।

केकीले भनिन्, ‘फिल्ममा मैले निर्वाह गरेको चरित्र संघर्ष गरिरहेको एक युवतीको हो । पात्रको संघर्षले मलाई सुरुवातको दिनहरु याद दिलायो । हामीले भोगिरहेको र देखिरहेकै कुरा भएकाले फिल्ममा अभिनय गर्न धेरथोर सहज पनि भयो ।’ फिल्मले दर्शकलाई नेपालीपन र नेपाली स्वाद दिने विश्वास केकीको छ ।

निर्देशक राजबहादुर सानेले ‘सिल्ली फो’बाट आफूले धेरै कुरा सिक्ने मौका पाएको बताएका छन् । यो सिोमाबाट सिकेको कुरा भोलीका दिनमा राम्रो फिल्म निर्माण गर्न सहयोग पुग्ने उनको विश्वास छ । उनले भने, ‘मैले कमेडी जनरामा पहिलो पटक हात हालेको हुँ । फिल्मले मलाई कमेडी जनरामा स्थापित गर्नेछ भन्नेमा विश्वस्त छु । कुनैपनि विदेशी फिल्मबाट प्रभावित नरहेको दावी सहित सिल्ली फोले नेपाली समाजभित्रको वास्तविक कथा भन्ने बताए ।’

कलाकारद्वय राजाराम पौडेल र रविन्द्र झाले फिल्ममा अभिनय गर्दा रमाइलो भएको अनुभव साट्दै फिल्म राम्रो बनेको दाबी गरे । फिल्ममा धिरेन शाक्य, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल, रेजिना थापा, राज गौतम, अम्बर बहादुर विष्ट, सौजन बोहोरा, जयमन बिश्वकर्मा, सरस्वती रम्जाली मगरलगायतको पनि अभिनय रहेको छ ।

मनोज डिके निर्माता रहेको फिल्मका सह–निर्माता विशाल श्रेष्ठ हुन् । फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर र मदन बास्तोलाको भीएफएक्स छ । फिल्मलाई सुनील मानन्धरको श्रीराम बालाजी फिल्मसले वितरण गर्दैछ ।