काठमाडौं । मदानी मुभिजको प्रस्तुतिमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको फिल्म ‘निरमाया’ को फस्टलुकसहित टिजर सार्वजनिक भएको छ । परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिनेछ भन्ने मूल भाव बोकेको फिल्मले नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दालाई उठाएको छ ।
अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुति रहेको नेपाली सामाजिक फिल्म ’निरमाया’ को निर्देशन रमेश कोइरालाले गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् । फिल्म विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको फिल्म ’निरमाया’ ले नेपाली समाजको यथार्थ कथा बोल्नेछ ।
फिल्ममा रमेश बुढाथोकी,लय संग्रौला,जे.एन.घिमिरे,जेबी डिसी,अजित लामिछाने,प्रतिषा रिजाल,सम्रिद्दी पौडेल, रमेश अधिकारि,गोपाल ढकाल,रामबाबु रेग्मी लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्ममा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ।
रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको फिल्मको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने फिल्ममा कविराज गहतराजको कोरियोग्राफी,अशोक खड्काको द्वन्द,कमल अधिकारी,रिमेश कुमारको संगीत रहेको छ। बिनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको फिल्मको छायाँकन सिन्धुली,काभ्रे र रामेछापमा गरिएको हो।
एक मिनेट ४५ सेकेन्ड लामो टिजरले बर्षौं देखि जरो गाडेको जातिय छुवाछुतको मुद्दालाई उजागार गर्न खोजेको छ। टिजर मदानी मुभिज एण्ड इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । निर्माण टिमले यस फिल्मलाई नेपाल सरकारको सहयोगमा देशभर विभिन्न शोजहरु गरि जना चेतना जगाउने लक्ष्य लिएको छ ।