पासो ट्रेलरमा रिस्ता र सुनिशाको संघर्ष

काठमाडौं । आगामी मंसिरको १६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा डेढ मिनेट लामो ट्रेलरमा दुई युवतीले बाँच्नका लागि गरेको संघर्षको कथा देखाइएको छ ।

फिल्मले विशेषगरि, अपहरणमा परेपछि २ युवतीले बाँच्नका लागि के के गर्छन् भनेर देखाएको छ । फिल्ममा नायिका रिस्ता बस्नेत र कलाकार सुनिशा बजगाँई केन्द्रिय भूमिकामा छन् । १३ दिन लगाएर खिचिएको फिल्ममा कथा, पटकथा, संवाद र निर्देशन आर.बी पूनको छ ।

फिल्मलाई भगवान भुजेलले निर्माण गरेका हुन् । राजकुमार राउत कार्यकारी निर्माता रहेको फिल्ममा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह–निर्माताको रुपमा छन् ।

यो फिल्ममा रिस्ता र सुनिशाको साथमा रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । सुर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन रहेको फिल्ममा सुरेश बस्यालको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन छ ।

यो फिल्मले नेपाली फिल्म क्षेत्रलाई एउटा नयाँ कथा दिने निर्माता भगवान् भुजेलको तर्क छ । यस्तै, नायिका रिस्ता बस्नेतले फिल्म छायांकन गर्दा निक्कै गाह्रो भएको बताइन् । उनले, १० दिनसम्म त आफू बक्साभित्र रहेर फिल्ममा काम गरेको सुनाइन् । यस्तै, अर्की नायिका सुनिशा बजगाँइले पनि ५ दिनसम्म हात बाँधेर काम गर्नुपर्दा गाह्रो भएको बताइन् । बी.आर इन्टरटेन्मेन्टको प्रस्तुतिमा यो फिल्म बनेको हो ।