काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको बीसौं संस्करण आजदेखि राजधानीको राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा सुरु भएको छ । बलिउड निर्देशक प्रकाश झाले फेस्टिभल शुभारम्भ गरे । फेस्टिभल उद्घाटन समारोहमा बोल्दै आयोजक हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापा र निर्देशक झाले काठमाडौंलाई सांस्कृतिक सहरको रुपमा स्थापना गर्नेतर्फ अघि बढ्न काठमाडौं महानगरका मेयर बालेन साहलाई आग्रह गरे । काठमाडौं महानगर फेस्टिभलको सह–आयोजक पनि हो । ‘काठमाडौंलाई फिल्म, साहित्य, संगीत, नाटक, सिम्फोनी र अर्केष्ट्राको विश्व हब बनाउन सकिन्छ र यसतर्फ म काठमाडौं महानगरलाई ध्यानाकर्षण गराउन चाहन्छु’ अध्यक्ष थापाले भने ।
फेस्टिभलको वक्ताको रुपमा काठमाडौं आइपुगेका बलिउड निर्देशक झाले काठमाडौं आफूलाई मनपर्ने सहरमध्ये भएको र यसलाई सांस्कृतिकरुपमा जीवन्त सहर बनाउनुपर्ने बताए । झाको अभिनय रहेको फिल्म ‘मट्टोकी साइकिल’को विशेष प्रदर्शन पहिलो दिन भएको छ । झासहित फिल्म निर्देशक एम गनी पनि समारोहमा उपस्थित थिए । फिल्म स्क्रिनिङपछि झा र गनीले फिल्म हेरेका दर्शकसँग फिल्मको क्राफ्टबारे अन्तक्रिया गरे ।
ओपनिङ समारोहमा जुरीहरु किरणभक्त जोशी, जिन्ना ली र माइकल पजले किम्फसँग जोडिएको सन्दर्भबारे धारणा राखे । ‘फिल्म निर्माण कार्य आफैमा चुनौतिपूर्ण हो, सिक्ने र धैर्य गर्ने बानी सिक्नुपर्छ’ चर्चित एनिमेटरसमेत रहेका जोशीले भने । समारोहमा युरोपेली युनियनको नेपाल नियोगकी उपप्रमुख जोएल इभोनेटले नेपालको फिल्म संस्कृति विकास गर्नमा किम्फ फेस्टिभलले पु¥याएको योगदानको चर्चा गरिन् । युरोपेली युनियनले नेपालको जलवायु संकट, मानवअधिकार, शिक्षा स्वास्थ्य र संस्कृति प्रवद्र्धनको क्षेत्रमा काम गरिरहेको उनले बताइन् ।
आगामी २६ गतेसम्म चल्ने फेस्टिभलमा ३० मुलुकका ६० भन्दा बढी फिल्म देखाइने भएको छ । फेस्टिभलमा भाग लिन दुई दर्जनभन्दा बढी विदेशी फिल्ममेकर काठमाडौंमा छन् । सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिन्छन् । फेस्टिभल समापन पोलियो उन्मूलनका लागि एक अस्ट्रेलियन अपांगता भएको व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको फिल्म ‘फ्लाई फ्रम एभरेष्ट’सँगै हुनेछ ।
महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः दुई लाख, एक लाख र ५० हजार रुपैयाँ पुरस्कारस्वरुप पाउनेछन् भने नेपाली पानोरामा अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई एक लाख र ७५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ ।
इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउण्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पाउनेछ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत ५० हजार पाउनेछ ।