वृत्तचित्रमा योगमायाको जीवन

काठमाडौं । महिला साधक ‘योगमाया’को जीवनमा आधारित वृत्तचित्र ‘योगमाया’ निर्माण हुने भएको छ । यो फिल्मको काठमाडौंमा एक समारोहबीच निर्माण घोषणा गरिएको छ ।

वृत्तचित्र भीमादेवी मल्टी क्रियशन र आरम्भ नेपालले संयुक्त रुपमा निर्माण गर्न लागेको हो । फिल्मी शैलीमा निर्माण हुने वृत्तचित्रका लागि सन्देश बसौला, नुभिषा उप्रेती, राजकुमार, वासुदेव खनाल, रुद्र गुर्माछान मगर, सरिता राजोपाध्याय, मिश्री थापालगायतका कलाकारहरु छानिएका छन् ।

कार्यक्रममा नुभिव फाउन्डेसनको पनि घोषणा गरियो । निर्देशक भीमा मैनालीको दिवंगत छोरा कलाकार नुभिव उप्रेतीको जन्म जयन्तीको अवसर पारेर सो फाउन्डेसनको घोषणा गरिएको हो ।

मानवशास्त्रीय अनुसन्धानमा आधारित योगमायालाई शुरुमा वृत्तचित्र र त्यसपछि फिल्मको रुपमा निर्माण गरिने अनुसन्धानकर्ता तथा निर्देशक भीमाले बताईन् । राणा शासनको बेला स्वतन्त्रताको लागि योगमायाले वृहत संघर्ष गरेर जलसमाधिसमेत लिएकाले यो वृत्तचित्र उनकै संघर्षकथामा केन्द्रित रहने पनि निर्देशक भीमाले बताईन् ।

उनले आफ्नो किशोरावस्थाको छोरा नुभिवको कलेजबाट अपहरणपश्चात हत्या भएकाले यस्तो हत्या अरुको नहोस् भनेर अभियानका लागि नुभिव फाउन्डेसनको स्थापना गरिएको जनाइन् । बालकलाकारको रुपमा चर्चा कमाएका नुभिवको काठमाडौंको एक कलेजबाट अपहरण पश्चात पोखरामा हत्या भएको अवस्थामा शब भेटिएको थियो ।

निर्देशक यादव खरेलले विगत दुई दशकदेखि अभिनयमा आफ्नो छुट्टै परिचय बनाएकी भीमाले योगमायामाथि पनि यथार्थपरक फिल्म बनाउनेमा आफू विश्वस्त रहेको बताए ।

कलाकार तथा निर्देशक लय संग्रौलाले धेरैवटा टेली फिल्ममा बालकलाकारको रुपमा अभिनय गराएका नुभिवको एकवर्षअघि अपहरणगरी हत्या भएको खबरले अहिलेसम्म दुःखी भएको बताए ।