जय हो अभिनेता समीरको निधन

मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजन दुरदर्शनबाट आउने सर्वाधिक लोकप्रिय टेलिभिजन शोमध्येको एक ‘नुक्कड’मा ‘खोपडी’ चरित्रबाट स्थापित भएका भारतीय अभिनेता समीर खाखरको मुम्बईमा निधन भएको छ । ७१ वर्षका समीरको बुधबार बिहान साढे ४ बजे निधन भएको हो ।

समीर लामा समयदेखि श्वास र अन्य रोगबाट पीडित थिए । उनको निधनको भाई गणेशले पुष्टि गरेका छन् । समीरले अभिनय करियरको ३८ वर्षमा विभिन्न टेलिभिजन शो तथा फिल्ममा अभिनय गरेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बोरिवलीको एमएम अस्पतालमा भर्ना गरिएको थियो । जहाँ पु¥याइएपछि उनी बेहोस भएका थिए । चिकित्सकले उनलाई तुरुन्तै आईसीयूमा भर्ना गरे पनि शरीरका सबै अंगले काम गर्न छोडेपछि उनको निधन भएको हो ।

समीरले केही समय अभिनयबाट ब्रेक लिएका थिए । तर उनले दुई गुजराती नाटकबाट कमव्याक गरे । समीरले अभिनेता सलमान खानको फिल्म ‘जय हो’मा निभाएको भूमिकालाई दर्शकले निकै मनपराएका छन् ।

समीरले करियरको सुरुवात सन् १९८७ मा रिलिज फिल्म ‘जवाब हम देंगे’बाट गरेका थिए । त्यसपछि उनले ‘मेरा शिकार’, ‘शहंशाह’, ‘राजा बाबू’, ‘गुरु’, ‘नफरत की आंधी’, ‘परिंदा’जस्ता फिल्ममा अभिनय गरे ।