नांगो गाउँको वर्कसप पुरा

काठमाडौं । हिमाल शर्माको निर्माण तथा दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार हुन लागेको फिल्म ‘नांगो गाउँ’को १५ दिने वर्कशप सम्पन्न भएको छ । फिल्मको निर्देशन टिम, प्रोडक्शन डिजाइन टिम, छायांकन टिम र कस्ट्यूम टिमसँग अलग–अलग रुपमा वर्कशप गरिएको निर्देशक लामाले जानकारी दिए ।

अन्तिममा भने कलाकारको टिमसँग वर्कशप गरिएको थियो । कलाकारहरुको वर्कशपमा दयाहाङ राई, कर्म, मिरुना मगर, शिशिर वाङ्देल, वुद्दि तामाङ, अंकित खड्का र रवीन्द्र झा सहभागी थिए । कलाकारहरुलाई पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य तथ्य संरचनाका बिषयमा प्रकाश पारिएको थियो । निर्देशक टिम र कलाकार बिचको अन्तरक्रियालाई रचनात्मक र प्रगतिशिल बनाइएको निर्माणपक्षले बताएको छ ।

कुनै पनि पात्रले कुन संवाद किन बोल्दैछ ? कुन पहिरन किन पहिरिदैछ ? कथालाई अगाडि बढाउन उसको भूमिका के हो ? लगायतका बिषयमा विश्लेषण गरिएको निर्देशक लामाले बताए । लामाले भने–‘मैले अहिलेसम्म यति घनिभूत किसिमले वर्कशप गरेको थिइनँ । कलाकार तथा प्राविधिकहरुले सक्रियतापूर्वक सहभागीता जनाउँदा खुशी लागेको छ ।’

राजेश विश्वकर्माले सहजीकरण गरेको वर्कशपले पटकथामा लेखिएका दृश्यहरुलाई सशक्त रुपमा पर्दामा उतार्न सहयोग मिल्ने दयाहाङले बताए । अभिनेत्री मिरुनाले वर्कशप निकै फलदायी भएको सुनाइन् । अर्की अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाल बाहिर रहेकाले उनी वर्कशपमा सहभागी हुन पाइनन् । यो फिल्मको छायांकन चैत्र १० गतेबाट काभ्रेमा सुरु गर्ने योजनामा यसको निर्माणपक्ष छ । फिल्ममा आलोक शुक्लाको छायांकन हुनेछ ।