काठमाडौँ । फिल्म ‘हल्कारा’का अभिनेता महेश त्रिपाठी र छायाकार चिन्तन राजभण्डारीलाई अमेरिकाको ‘वल्र्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल’मा प्राप्त गरेको अवार्ड प्रदान गरिएको छ । गत वर्ष ५५ औं ‘वल्र्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो फिल्मले उत्कृष्ट फिल्मसँगै उत्कृष्ट अभिनेता र उत्कृष्ट छायाकारको अवार्ड जितेको थियो । फिल्म नेपालमा यही वैशाख २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।
बिहिबार अस्कर इन्टरनेशनल कलेजमा विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै अवार्ड प्रदान गरिएको हो । अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहाल, छायाकार राजेश श्रेष्ठ, अस्कर कलेजका एकेडेमिक डिरेक्टर मनोजबाबु पन्त, एकेडेमिक कोअर्डिनेटर नवनिधि दाहाल र ‘हल्कारा’का निर्देशक विक्रम सापकोटाले त्रिपाठी र राजभण्डारीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।
फेस्टिभलमा फिल्मले उत्कृष्ट फिल्मको अवार्ड पनि जितेको थियो । यो अवार्ड भने निर्देशक सापकोटाले फेस्टिभलमा नै पुगेर लिएका थिए । त्रिपाठी र राजभण्डारी नेपालमा नै रहेका कारण फेस्टिभलमा सहभागिता जनाउन पाएका थिएनन् । फेस्टिभलले दुवैजनाको अवार्ड हुलाकमार्फत नेपाल पठाएको थियो ।
फिल्म कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । फिल्मले हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्छ । फिल्मले ‘नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२’मा ‘बेस्ट लङ न्यारेटिभ फिल्म’ जित्दा ‘फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२’ मा सेमीफाइनल सम्म पुगेको थियो । त्यस्तै, ‘युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२’मा अफिसियल सेलेक्सन भएको थियो ।
फिल्ममा महेश त्रिपाठी, बिनिता थापामगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्रीलगायतको अभिनय छ । यस फिल्मका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह–लेखन गरेका छन् ।