परस्त्री गीतमा भारतीय गायकगायिकाको स्वर

काठमाडौं । नेपाल र भारतमा एक साथ रिलिज हुने नेपाली फिल्म ‘परस्त्री’का तीनवटा गीतमा भारतीय गायकगायिका अमित मिश्र, सोनल प्रधान र कुनल गञ्जवालाले स्वर दिने भएका छन् । तीनै गायकगायिका बलिउडमा चलेका पाश्र्व गायकगायिका हुन् ।

कुनल गञ्जवालाको स्वरमा गीत रेकर्ड भइसकेको छ भने अमित र सोनलले गाउन बाँकी छ । ‘सोनल र अमितले पनि आज गीत रेकर्ड गर्दैछन्,’ परस्त्रीका निर्देशक सुरज पाण्डेले भने ।

नेपालीमा भने केतन क्षेत्री र निकिथा थापाले गीत गाएका छन् । भारतीय सिंगरले गाएका गीत भने जेठ १६ गते रिलिज गर्ने निर्देशक सुरजले जानकारी दिए ।

इन्डो–नेपाली सिनेमा ‘परस्त्री’ जुन ३० अर्थात असार १५ गते नेपाल र भारतमा यो सिनेमा एकसाथ रिलिज हुँदैछ ।

सुरजले निर्देशन गरेको सिनेमा दीपेन्द्र के खनालले कथा लेखेका छन् । शर्मिला पाण्डेले निर्माण गरेको सिनेमा डीएस डिजिटलको प्रस्तुति रहेको छ ।

‘परस्त्री’ हिन्दी भाषामा डबिङ भइसकेको छ । ‘परस्त्री’को पोस्टर बलिउड ट्रेड एनलाइसिस्ट तरण आदर्शले सार्वजनिक गरेका थिए ।

फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायत कलाकारको अभिनय रहेको छ ।