काठमाडौं । नवल खड्काको निर्माण, निर्देशन र अभिनय रहेको फिल्म ‘काँडेतार’को राजधानीमा च्यारिटी शो गरिएको छ । चलचित्र विकास बोर्डमा आयोजित च्यारिटी शोमा नागरिक उड्डयन, पर्यटन तथा संस्कृतिमन्त्री सुदन किराँती, सामान्य प्रशासनमन्त्री अमनलाल मोदीज्यूलगायतको उपस्थिति थियो ।
कलाकार तथा निर्देशक खड्काले फिल्म हेरेर मन्त्रीलगायत अन्य अतिथीहरुले सकारात्मक प्रतिक्रिया दिएको बताए । ‘मन्त्रीहरुबाट यो फिल्म विषयवस्तुले परिपूर्ण, नेपाल र नेपालीको स्वभिमानलाई उजागर गर्ने सरल तथा सहज दृश्य–प्रस्तुति र सिने–प्रविधिको उच्चतम प्रयोग भएका कारण हरकोही नेपालीले हेर्नैपर्ने भन्दै प्रतिक्रिया दिनुभएको छ । यो प्रतिक्रियाले हामी उत्साहित छौं’, खड्काले भने ।
आगामी फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको हो । शिवम अधिकारी र नवल खड्काको लेखन रहेको फिल्ममा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन् ।
मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।