काठमाडौं । चार महिला पात्रको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’ आगामी भदौ १ गतेबाट रिलिज हुने भएको छ । निर्माण टिम र वितरण कम्पनी डिसीएन बिच कागजी सम्झौतासँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो । यसै गरी फिल्मको डिजिटल राइट्स पनि बिक्रि गरिएको छ। डिएआर मुभिजले फिल्मको डिजिटल राइट्स खरिद गरेको छ।
डिएआर मुभिजका श्याम धिताल र फिल्मका कार्यकारी निर्माता नवीन भट्टबीच डिजिटल अधिकारको सम्झौता सम्पन्न भएको हो। केही समय डिजिटल राइट्सको कामबाट अलिक सुस्त रहेको डिएआरले अब नियमित डिजिटलको काम गर्ने र फिल्महरु खरिद गर्ने बताएको छ।
फिल्मको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा छन् । फिल्ममा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको पनि अभिनय रहेको छ। एन्थोलोजी जनरामा निर्माण भएको फिल्मले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए । ‘यी तीनै घटना लभस्टोरी कथावस्तुमा आधारित छन्,’ भट्टले भने ।
फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा गणेशदेव पाण्डेको निर्देशन छ । यसअघि उनले मञ्जरी, गाजा बाजा फिल्मको निर्देशन गरेका थिए । विवेक खड्काको छायांकन र अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । फिल्मको निर्माता आभा शर्मा नेपाल हुन् । फिल्मको केही देशहरुको ओभरसिज राइट्स पनि बिक्री भईसकेको निर्माण टिमले बताएको छ।