काठमाडौँ । अविनाशविक्रम शाहले निर्देशन गर्ने फिल्म ‘एलिफेन्ट इन द फग’ले बर्लिनको ‘वल्र्ड सिनेमा फन्ड’ जित्न सफल भएको छ । पचास देशका एक सय ४० फिल्मबाट उत्कृष्ट १३ मा पर्न सफल सो फिल्म निर्माणका लागि ४० हजार युरोे प्राप्त हुने निर्माता अनुप पौडेलले जानकारी दिए ।
यो कार्यक्रमको ३८ औँ संस्करणमा निर्णायकले १३ वटा फिल्मलाई सहयोग गर्ने घोषणा गरेका थिए । जसमा नेपालबाहेक भूटान, ब्राजिल, इन्डोनेसिया, इजरायल, प्यालेस्टाइन, सोमालिया, सुडान, टर्की आदि देश रहेका छन् । जहाँ १० फिल्मलाई निर्माण सहयोग र तीन वटालाई वितरणको रकमका लागि सिफारिस गरेका हुन् ।
प्राप्त रकम एकै पटक प्रयोग गर्न नपाइने निर्माता पौडेलले जानकारी दिए । उनले भने, ‘यसले हामीलाई फिल्म निर्माणमा राम्रै सहयोग हुन्छ । पहिलो किस्तामा ५० प्रतिशत र बाँकी कामको विकाससँगै रकम प्राप्त हुनेछ ।’ आउँदो माघमा छायाङ्कन गर्ने तयारी गरिएको फिल्ममा प्रेमीसँग विवाह गरेर ढुक्कको जीवन बिताउने पिरती नामकी पारलैङ्गिक महिलाको छोरी हराएपछिको कथालाई चित्रण गरिनेछ ।