मायालाई चिनोमा धिरज र सुहाना

काठमाडौं । आगामी भाद्र २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘एक भगवत् गीता’को गीत ‘मायालाई चिनो’ सार्वजनिक भएको छ । बिहीबार इन्टरनेटमा रिलिज भएको गीतमा फिल्मका प्रमुख दुई पात्र धिरज मगर र सुहाना थापाको लभ केमेष्ट्रीलाई प्रस्तुत गरिएको छ ।

गीतमा गुरुङ र मधेशी समुदायबाट प्रतिनिधित्व गर्ने दुई फरक पात्रको प्रेमकथालाई भिडियोमा बुनिएको छ । कविराज गहतराजको कोरियोग्राफी तथा संकल्प भुजेलको डिओपी रहेको गीत कास्की जिल्लाका रमणीय स्थानमा खिचिएको हो ।

शंकर अधिकारी घायलको शब्द रहेको गीतमा बाबुल गिरीको एरेञ्ज, संगीत तथा स्वर सुन्न सकिन्छ । अन्तरजातीय प्रेमकथामा आधारित रहेको फिल्ममा धिरज र सुहानाका अलवा विपिन कार्की, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुनिल कुमार थापाको निर्माण रहेको फिल्मको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको फिल्ममा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिेकको संगीत रहेको छ ।

सुनिल कुमार थापाको निर्माण तथा झरना निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज सफल छन् । यो उनीहरुको सहकार्यमा निर्माण भएको चौंथो फिल्म हो । फिल्मलाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछन् ।