नम्रता लेख्छिन्– मुठ्ठीभर मान्छेहरू हात धोएरै लागेका छन्

काठमाडौं । फिल्म ‘ह्यासट्याग माया’का अभिनेता सारुक ताम्राकारले गत असार २१ गते घरमा नै आत्महत्या गरेपछि उनको आत्महत्याको कारण अझै रहस्यमै छ । पुत्र शोकमा रहेका उनका पिता सानु ताम्राकारको पनि शनिबार दिउँसो निधन भयो ।

छोराको आत्महत्या पछि मृगौलामा समस्या देखिएका सानुलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा निधन भयो । सारुकको निधन पछि सञ्चारमाध्यममा फिल्मकी अभिनेत्री नम्रता श्रेष्ठलाई जोडेर विभिन्न समाचारहरु आए । भलै नम्रताले यो विषयमा केही बोलेकी थिइनन् ।

उनले सोमबार भने सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै सारुकलाई न्यायको माग गरेकी छन् । ‘स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए । ऊनी सहयोगी भावना भएका मिलनसार व्यक्ति थिए । यो घटनाले हामीलाई अचम्मित तुल्याएको छ’, उनले लेखेकी छन् ।

उनी अगाडि लेख्छिन्, ‘यो घटना केही दिन पहिले घटेको हो । तर अहिले आएर सामाजिक सञ्जालमार्फत म केही बोल्न बाध्य भए, सामन्य अवस्थामा पनि त्यतिसाह्रो मिडियामा आउने मान्छे होइन । तर हाल यो घटना पश्चात एकलौटी रुपमा विभिन्न मिडियामार्फत कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लाग्नुभएको थियो । मेरो परिवार र हाम्रो कानुनी टीमले त्यो किसिमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौ । एकजना महिला भएकै कारण यती धेरै सामाजिक आक्रमण भएको होला सायद किनकी यो पुरुष प्रधान समाज हो ।’

उनले आफ्नो मौनतालाई कमजोरी नठान्न अपिल गरेकी छन् । उनले आफू सोही फिल्मको कलाकार भएका कारणले आफू प्रहरी प्रशासनले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुराहरू बयान दिनु स्वाभाविक भएको दाबी गरेकी छन् । उनले केही मुठ्ठीभर मान्छेहरू हात धोएरै लागेको आरोप लगाएकी छन् । उनले सारुकलाई न्यायको माग गर्दै ‘जस्टिस फर सारुक’ लेखेकी छन् ।