काठमाडौं । अभिनेता तथा मोडल विमलेश अधिकारी अब निर्देशक बन्ने भएका छन् । उनले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा निर्माण हुने सिनेमाको शिर्षक तथा मुख्य कलाकारसहितको टिम चिनाएका छन् ।
उनले निर्देशन तथा अभिनय गर्ने फिल्मको नाम ‘ह्याप्पी डिभोर्स’ राखिएको छ । फिल्ममा उनका अलवा केकी अधिकारी र रीमा विश्वकर्माको पनि मुख्य भुमिका रहनेछ । अर्को बर्ष अर्थात् २०२४ को जनवरीमा छायांकनमा जाने फिल्मको रिलिज समेत यही बर्ष गरिनेछ ।
फिल्मको कथासार बुझाउने म्युजिकल प्रिभ्युसमेत सार्वजनिक गरिएको छ । फिल्मको सार्वजनिक म्युजिकल प्रिभ्युमा मुख्य कलाकार केकी अधिकारी र रीमा विश्वकर्माका अलवा निर्देशक अधिकारी समेत देखिएका छन् । विशाल पोखरेलको संगीतमा तयार भएको शिर्ष गीतमा सुरेश लामा र ममता गुरुङको स्वर सुन्न सकिन्छ ।
निर्देशक अधिकारीको कन्सेप्टमा निर्माण हुने फिल्मले नयाँ सुरुवात, स्वतन्त्रता र राम्रो भविष्यको कथा भन्ने छ । एक जोडीको वर्तमान अवस्था र त्यसलाई भविष्यमा अझै राम्रो बनाउन चाल्ने कदमलाई नजिकबाट देखाउन प्रयास आफ्नो टिमको रहने निर्देशक अधिकारीले बताए । लामो समयदेखि आफ्नो दिमागमा खेलिरहेको एउटा सुन्दर कथालाई दर्शकमाझ प्रस्तुत गर्न लागेको विमलेशको दाबी छ ।
अभिनेत्री केकी अधिकारीले पनि समाजलाई डिभोर्स सहज बाटो हो भन्ने सन्देश फिल्मले नदिने बताइन् । ‘हाम्रो समाजले अझै पनि डिभोर्सलाई सहज रुपमा स्विकार गरिसकेको छैन् । त्यसैले पनि समाजमा गलत सन्देश नपुगोस भन्ने कुरामा सजग छौं’, उनले भनिन्
अभिनेत्री रीमा विश्वकर्माले पनि फिल्मले डिभोर्स नै समस्याको समाधान नरहेपनि जिवनमा आइपर्ने अप्ठेरा पाटोलाई कुनै न कुनै रुपमा अगाडी बढ्न सिकाउने बताइन् । एउटा मान्छेले कहिल्यै पनि करियर र परिवारलाई एकसाथ अगाडी बढाउन खोज्दा करियर र परिवारमा एउटा रोज्नु पर्ने परिस्थितिलाई फिल्मले नजिकबाट देखाउने दाबी गरिन् ।
सेभेन कलर्स डिजिटलको व्यानरमा निर्माण हुने फिल्ममा नवराज उप्रेतीको छायांकन, पुष्करमणि राईको पटकथा, सोनी सिंजाली मगरको ड्रेस डिजाइन, विशाल मोक्तानको मेकअप, सागबाबु भट्टको सहायक निर्देशन, दिपेन गौतम प्रोडक्सन म्यानेजर र कलर तथा सम्पादन टेकेन्द शाहको रहनेछ ।
कुनै बेला म्यूजिक भिडियोमा निकै रुचाइएका विमलेश पछिल्लो पटक २०७३ सालमा प्रदर्शनमा आएको सिनेमा ‘जंगबहादुरको कोट’मा देखिएका थिए । त्यसपछि अमेरिकालाई कर्मथलो बनाएका उनल ‘तुलसी’, ‘मुटु’, ‘ब्रेकफेल’, ‘मेरो बेष्ट फ्रेन्ड’, ‘को हुँ म ?’ लगायतका फिल्ममा पनि अभिनय गरेका छन् ।