हिजो काम आज काममा प्रकाशको पीडा

काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक गरिएको छ । बडादशैंको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ‘हिजो काम’बोलको गीत सार्वजनिक गरिएको हो । निर्माण टिमले बुधवार बिहान सार्वजनिक गरेको यो गीतले परदेशीकै कथा वाचन गरेको छ ।

गीतमा सतिश चापागाईंको शब्द, फिल्मका अभिनेतासमेत रहेका प्रशान्त तामाङको स्वर, बि.बि अनुरागीको संगीत र एरेन्ज रहेको तथा श्याम श्वेत रसाईलीको मिक्सिङ छ ।

गीतको भिडियोमा फिल्मका कलाकार प्रकाश सपूत र दीलिप रायमाझीसँगै रमा थपलिया फिचर्ड छन् । नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाश र दीलिपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतको अभिनय छ ।

गीतकार रमेश बिजीको लेखन रहेको फिल्मले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको कथा पेस गर्छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरुको कथा–व्यथालाई समेत फिल्ममा समेटिएको छ । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन छ ।